काठमाडौं :
फिल्म ‘हरिबहादुरको जुत्ता’ को नयाँ गीत ‘ढाका टोपी शिरैमा’ को भिडियोमा अभिनेत्री स्वस्तिमा खड्का र गायक तथा अभिनेता प्रकाश सपुतको जोडी प्रस्तुत गरिएको छ। गीतको सार्वजनिक भएसँगै उनीहरूको संयोजन दर्शकको ध्यान खिच्न सफल देखिएको छ।
दीपेन्द्र के. खनाल निर्देशित फिल्ममा स्वस्तिमा र प्रकाश मुख्य भूमिकामा छन्। हालै सार्वजनिक गीतमा उनीहरूले प्रस्तुत गरेको नृत्य र अभिनयले फिल्मप्रतिको उत्सुकता बढाएको निर्माण पक्षको दाबी छ। भिडियोमा हरिवंश आचार्यको उपस्थिति पनि देखिन्छ, तर दृश्यात्मक रूपमा स्वस्तिमा–प्रकाशको केन्द्रीयता देखिन्छ।
गीतमा मेलिना राई र आशिष अविरलको स्वर छ भने दानबहादुर कार्कीको शब्द र दीपक शर्माको संगीत समावेश छ। किरण थापा र रविता मगरले कोरियोग्राफी गरेका छन्।
प्रकाश सपुतको यो दोस्रो फिचर फिल्म हो भने स्वस्तिमा खड्का पछिल्लो समय लगातार मुख्यधारका फिल्महरूमा देखिएकी छन्। दुवै कलाकारले फिल्मको प्रोमोशनमा सक्रिय सहभागिता जनाइरहेका छन्। फिल्म ‘हरिबहादुरको जुत्ता’ असोज १३ (फूलपाती) मा प्रदर्शनमा आउने तयारीमा छ।