सुचना, समाचार र मनोरन्जन

‘कुमारी’ फिल्मको घोषणा कार्यक्रममै गाइएको गीत युट्युबमा उपलब्ध

काठमाडौं :

फिल्म ‘कुमारी’ को प्रमुख गीत ‘कहाँ छौ’ युट्युबमा सार्वजनिक गरिएको छ। दुई दिनअघि टुँडिखेलमा आयोजित फिल्म घोषणा कार्यक्रममा प्रत्यक्ष प्रस्तुत गरिएको यो गीत अब डिजिटल प्लेटफर्ममार्फत दर्शकमाझ आएको हो।

गीतमा गायक केहर सिंह लिम्बुको स्वर रहेको छ। उनले यही फिल्ममार्फत पार्श्व गायनमा डेब्यु गरेका हुन्। ‘केहर एन्ड द लुङ्गा’ ब्यान्डको शब्द र संगीत रहेको गीतको भिडियोमा फिल्म घोषणा समारोह, पोस्टर अनावरण र कलाकार परिचय समावेश गरिएको छ।

फिल्म ‘कुमारी’को निर्देशन दिनेश राउतले गर्दैछन्। उनले यसअघि ‘नोभेम्बर रेन’,‘प्रसाद’,‘प्रकाश’लगायत चर्चित फिल्म निर्देशन गरिसकेका छन्। फिल्ममा अबिशेक खड्का र आकृति राजभण्डारीले प्रमुख भूमिकामा डेब्यु गर्दैछन्। अन्य कलाकारमा घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकांक्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, मनीषा शर्मा लगायत रहेका छन्।

बिनिश इन्टरटेन्मेन्टद्वारा निर्माण हुने फिल्मको सह-निर्माणमा पिक्चर फ्रेम रहेको छ। फिल्ममा चार गीत समावेश गरिनेछन्। अन्य गीतहरूमा संगीत प्रशान्त सिवाकोटीले गर्नेछन् भने सागर लामिछाने मगर, सुमन तामाङ र युवराज काफ्लेको शब्द प्रयोग हुनेछ।

छायांकन मङ्गलबारबाट सुरु हुने फिल्म यसै वर्ष प्रदर्शनमा ल्याउने लक्ष्य रहेको छ। फिल्मको डिजिटल वितरण केन्द्र मोशन पिक्चर्सले गर्नेछ भने काठमाडौं उपत्यकाभित्र डीसीएन र बाहिर कुवेर सिने डिस्ट्रीब्युशनले वितरण गर्ने छन्।

Leave A Reply

Your email address will not be published.