काठमाडौं :
चलचित्र ‘बलिदान’ को ओएसटी गीत ‘यो ज्यान बलिदान’ सार्वजनिक गरिएको छ। लिरिकल शैलीमा रिलिज गरिएको यस गीतमा स्वर तथा सङ्गीत सुजन चापागाईँको रहेको छ भने शब्द हर्क साउदले लेखेका छन्।
गीतले आमा र मातृभूमिप्रति पुत्रको भावनात्मक समर्पणलाई चित्रण गरेको छ। “आवश्यक परे प्राण समेत आमा र मातृभूमिको नाममा अर्पण गर्न तत्पर छ” भन्ने भाव यस गीतमार्फत व्यक्त गरिएको छ।
सङ्गीत संयोजन, ब्याक–भोकल, मिक्सिङ तथा मास्टरिङ कोविद बज्रले गरेका छन्।
गीत सार्वजनिक गर्दै निर्देशक सन्तोष सेनले ‘बलिदान’ जन्मनुका पछाडिको सोच व्यक्त गर्दै भने, “प्रेमकथाले मनोरञ्जन दिन सक्छ तर देशको घाउलाई देखाउन सक्दैन भन्ने महसुस भयो। आमा र मातृभूमिको लागि युवा कति टाढासम्म जान सक्छ भन्ने कुरा कलाबाटै देखाउनुपर्छ भन्ने धारणा बनेपछि यो चलचित्र तयार भएको हो।”
‘आसुसेन फिल्म्स प्रा.लि.’को ब्यानरमा निर्माण भएको चलचित्रमा समीर भट्ट, सौगात मल्ल, ऋचा शर्मा, अर्पण थापा, कविता राय, हेमन्त बुढाथोकीलगायत कलाकारको अभिनय रहेको छ। लेखन दर्शन जीले गरेका हुन् भने निर्माता पवन ब्राडफोर्ड विष्ट र कार्यकारी निर्माता प्रेम पुरी रहेका छन्।
यसअघि सार्वजनिक पोस्टर, प्रि–टिजर र टिजरले चर्चा कमाइसकेको अवस्थामा ओएसटी गीतले चलचित्रप्रतिको उत्साह थप बढाएको छ। निर्देशक सेनका अनुसार केही दिनमै ट्रेलर सार्वजनिक हुनेछ। चलचित्र आगामी असोज १३ गते (बडादसैँको फूलपाती) बाट देशभर प्रदर्शनमा आउनेछ।