काठमाडौं :
आगामी कात्तिक ६ गते भाइटीकाको अवसरमा रिलिज हुन लागेको चलचित्र ‘वरिष्ठ बलराम’ गीत र ट्रेलरमार्फत चर्चामा आएको छ। फिल्मको सार्वजनिक गीत ‘न्यौली बनैमा’ ले सामाजिक सञ्जालमा उच्च लोकप्रियता पाएको छ। युट्युबमा दुई हप्तामै ५२ लाख ९६ हजारभन्दा बढी भ्युज पाएको गीतले टिकटकमा पनि ठूलो क्रेज बनाएको छ।
प्रशान्त शिवाकोटीको शब्द र संगीत रहेको गीतमा प्रशान्त र शान्तीश्री परियारको स्वर छ। भिडियोमा विजय बराल र समृद्धि अर्यालले प्रेममा परेको जोडीको कथा प्रस्तुत गरेका छन्। उनीहरूको अभिनय र नृत्यलाई दर्शकले खुलेर प्रशंसा गरेका छन्।
गीतको सफलतासँगै चार दिनअघि सार्वजनिक ट्रेलरले पनि १३ लाख ९६ हजारभन्दा बढी भ्युज प्राप्त गरेको छ। ट्रेलरमा देखाइएको दयाहाङ राई र विजय बरालबीचको टकराब दर्शकले मन पराएका छन्। दयाहाङको फरक लुक र विजयको तीव्र अभिनयलाई युट्युब प्रतिक्रियामा प्रशंसा गरिएको छ।
लोकप्रियता हेर्दा चलचित्रले बक्स अफिसमा राम्रो प्रदर्शन गर्ने अनुमान गरिएको छ। ‘वरिष्ठ बलराम’लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन्। वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्म्सको सहकार्यमा बनेको फिल्ममा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायतका कलाकारको अभिनय रहेको छ।
फिल्मको कथा र सम्पादन निर्देशक पौडेलकै, पटकथा महेश दवाडीको हो। आशिष एच तामाङ र श्रीराज कार्की निर्माता हुन् भने प्रदीप जी धामी र पुस्कर बी घिमिरे कार्यकारी निर्माता हुन्। राम विष्ट लाइन प्रोड्युसर र मनकृष्ण महर्जन छायाकार हुन्।
फिल्ममा प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन निर्देशन, र प्रदीप लामाको कोरियोग्राफी छ। चलचित्रलाई काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ।