काठमाडौं :
बलिउडका वरिष्ठ अभिनेता धर्मेन्द्रको निधनसँगै भारतीय चलचित्र क्षेत्रले एउटा महत्त्वपूर्ण युगको अन्त्य अनुभव गरिरहेको छ। करिब सात दशक लामो अभिनय यात्राका कारण ‘ही–म्यान’ उपनामले चिनिने धर्मेन्द्रको जीवन पर्दामा जति चम्किलो देखिन्थ्यो, पर्दामागिको कथा भने उतिबेला कैयौँ रमाइला प्रसंग र उल्लेख्य विवादले घेरिएको थियो।
धर्मेन्द्रले एक्शनदेखि रोम्यान्ससम्म सशक्त उपस्थितिराख्दै दर्शकमाझ अलगै पहिचान बनाएका थिए। उनी स्टन्ट आफ्नै शरीरले गर्ने बानीका कारण ‘ही–म्यान’ कहलिएका थिए। छायांकनको क्रममा जोखिमपूर्ण दृश्यहरू नकार्न नसक्ने स्वभाव, सह–कलाकारसँगको हाँसो–ठट्टा र सेटमा सिर्जनात्मक माहोल बनाउने बानी उनको व्यक्तिगत छविको रमाइलो पक्षहरू मानिन्थे।
‘शोले’को छायांकनमा बसन्तीको नृत्य दृश्यका क्रममा हेतैमा गल्ती गर्दै हेमा मालिनीलाई रमाइलो पार्ने उनका व्यवहार त्यतिबेलै चर्चामा परेका थिए। सह–कलाकारहरूका अनुसार उनी जहाँ पुग्थे, माहोल हल्का र घुलमिल हुने गर्थ्यो।
तर यही चम्किलो व्यक्तित्वसँगै उनका केही विवादित अध्यायहरू पनि बलिउडमा लामो समयसम्म चर्चा बने। पहिलो पत्नी प्रकाश कौरसँग चार सन्तानपछि उनले अभिनेत्री हेमा मालिनीसँग दोस्रो विवाह गरे। कानुनी रूपमा पहिलो विवाह कायम रहँदा दोस्रो वैवाहिक सम्बन्धलाई लिएर लामो समय मिडियामा बहस भयो। यसैबीच ‘विवाहका लागि धर्म परिवर्तन गरेको’ भन्ने भनाइ पनि त्यतिबेला विवादको केन्द्रमा रह्यो।
दुई परिवारबीचको दूरी र सम्बन्ध सन्तुलनमा देखिएको चुनौतीले पनि धर्मेन्द्रको निजी जीवनलाई मिडिया विवादको नियमित विषय बनायो। हेमा मालिनीले आफूहरू सँगै नबस्ने तर परिस्थितिलाई स्वीकारेर जीवन अघि बढाएको बयानले पारिवारिक तनावको झल्को दिएको थियो।
कहिलेकाहीँ मदिरासँगको निकटताले उनी सेटमा ढिलाइ वा असन्तुष्टि देखाउने गरेको भनाइ पनि बाहिरिएको थियो। यद्यपि, उनका सह–कलाकारहरूको भनाइमा उनी कठिन क्षणमा पनि कामप्रति जिम्मेवार रहन्थे।
धर्मेन्द्रको निधनपछि बलिउड कलाकार, राजनीतिक नेतृत्व र दर्शकहरूले उनको योगदानलाई भारतीय सिनेमाको इतिहासमा अमूल्य बताउँदै श्रद्धाञ्जलि व्यक्त गरेका छन्। उनको जीवनका सफलतासँगै उठेका विवाद र रमाइला प्रसंगहरूले उनलाई भारतीय चलचित्र इतिहासको एक बहुपक्षीय, जटिल र अविस्मरणीय व्यक्तित्वका रूपमा स्थापित गरेको छ।