भोजपुर :
पूर्वअर्थमन्त्री तथा वरिष्ठ गीतकार शंकरप्रसाद कोइराला (एसपी कोइराला)को नेतृत्वमा भोजपुर जिल्लाका विद्यालय तथा क्याम्पसमा ‘इ–लर्निङ सेन्टर’ स्थापना गरिएको छ । सूचना प्रविधिमैत्री शिक्षाको विकास गर्दै विद्यार्थीको सिकाइ प्रभावकारी बनाउने उद्देश्यका साथ यो अभियान अघि बढाइएको हो ।
पूर्वअर्थमन्त्री कोइरालाको नेतृत्वमा रहेको ‘ईश्वर मन्दिर, काठमाडौं’ संस्थाको सहयोगमा जिल्लाका विभिन्न सामुदायिक विद्यालय तथा शैक्षिक संस्थामा इ–लर्निङ सेन्टर स्थापना गरिएको हो । अभियानअन्तर्गत भोजपुर नगरपालिका–९ काफ्लेमा रहेको जनकल्याण आधारभूत विद्यालयमा नयाँ इ–लर्निङ सेन्टर सञ्चालनमा ल्याइएको छ ।
वि.सं. २०१४ सालमा स्थापना भएको उक्त विद्यालयमा १० थान कम्प्युटर सेट र एक थान स्मार्ट टिभीसहित आवश्यक विद्युतीय सामग्री जडान गरिएको छ । पूर्वअर्थमन्त्री कोइरालाले विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समिति अध्यक्षलाई औपचारिक रूपमा इ–लर्निङ सेन्टर हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा बोल्दै कोइरालाले सूचना प्रविधिको वर्तमान युगमा विद्यार्थीलाई डिजिटल सीपसँग जोड्न आवश्यक रहेको उल्लेख गरे । उनले ग्रामीण क्षेत्रका विद्यालयमा पनि प्रविधिमैत्री शिक्षा विस्तार गर्न संस्था निरन्तर सक्रिय रहेको बताए ।
विद्यालयका संस्थापक कल्याणप्रसाद कोइरालाका छोरा गीतकार रमेश कोइरालाले आफ्ना आमाबुबाको नाममा १ लाख ११ हजार १११ रुपैयाँको अक्षयकोष स्थापना गरी छात्रवृत्ति कार्यक्रम सुरु गरेका छन् । विद्यालयको ६९औँ वार्षिकोत्सवको अवसर पारेर इ–लर्निङ सेन्टर पनि सञ्चालनमा आएको विद्यालयका प्रधानाध्यापक योगराज लुईटेलले जानकारी दिए ।
संस्थाले काफ्ले मात्र नभई त्रिभुवन धर्मोदय मावि, भोजपुर बहुमुखी क्याम्पस, विद्योदय मावि, जनसेवा आधारभूत विद्यालय, सरस्वती आधारभूत विद्यालय, आदर्श शिशु आधारभूत विद्यालय, हतुवागढीको सगरमाथा मावि, षडानन्द नगरपालिकाको अरुण मावि तथा अरुण गाउँपालिकाको शारदा माविलगायतका शैक्षिक संस्थामा पनि इ–लर्निङ सेन्टर स्थापना गरिसकेको छ ।
ईश्वर मन्दिर संस्थाका अध्यक्ष प्रमेश केशीले ‘विद्यार्थी साथमा, कम्प्युटर हातमा’ अभियानअन्तर्गत भोजपुरका सामुदायिक विद्यालयको शैक्षिक सुधारमा सहयोग भइरहेको बताए । संस्थाका महासचिव संकेत कोइरालाले आधुनिक शिक्षाका लागि विद्यार्थीको हातमा कम्प्युटर अनिवार्य रहेको उल्लेख गर्दै अभियानलाई अन्य जिल्लामा समेत विस्तार गर्ने लक्ष्य रहेको बताए ।