सुचना, समाचार र मनोरन्जन

‘झरीपछिको इन्द्रेणी’को गीत ‘आम नेपाली बुवा’लाई युट्युबमा ४७ लाखभन्दा बढी दर्शक

काठमाडौं :

नेपाली चलचित्र ‘झरीपछिको इन्द्रेणी’ को आधिकारिक गीत ‘आम नेपाली बुवा’ ले युट्युबमा उल्लेखनीय दर्शक संख्या हासिल गरेको छ। गत डिसेम्बर १४ मा सार्वजनिक गरिएको उक्त गीतले हालसम्म ४७ लाख ४७ हजारभन्दा बढी भ्युज प्राप्त गरेको छ।

नागराज इन्टरटेन्मेन्टको प्रस्तुति रहेको यस गीतमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको कालजयी कविता ‘कुन मन्दिरमा जान्छौ यात्री’ लाई मौलिक शैलीमा समावेश गरिएको छ। गीतको मूल स्वर रबिन शर्माको रहेको छ भने संगीत रञ्जित गजमेरले दिएका हुन्। गीतमा समावेश र्‍याप तथा थप शब्द बालेनले लेखेका हुन्।

कोरस गायन दिक्ष्या उप्रेतीले गरेकी छन् भने सारंगी वादनमा मनिष गन्धर्वको योगदान रहेको छ। गीतको एरेन्ज क्रोनिक बिट्जले गरेका हुन्।

गीतको भिडियोमा चलचित्रका प्रमुख कलाकार गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला लगायतको अभिनय देख्न सकिन्छ। भावनात्मक विषयवस्तु र सामाजिक सन्देशका कारण गीतले दर्शकको ध्यान आकर्षित गरिरहेको निर्माण पक्षको भनाइ छ।

चलचित्र ‘झरीपछिको इन्द्रेणी’ पौष ४ गते (डिसेम्बर १९) देखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आएको हो। फिल्मलाई अर्जुन घिमिरे (पाँडे)ले निर्देशन गरेका हुन्।

Leave A Reply

Your email address will not be published.