काठमाडौं :
अभिनेता आकाश श्रेष्ठ केही वर्षदेखि ठूलो पर्दामा मुख्य भूमिकामा देखिएका थिएनन् । यस अवधिमा उनले केही चलचित्रमा केमियो भूमिकामा मात्र अभिनय गरेका थिए ।
म्युजिक भिडियोमा सक्रिय रहे पनि चलचित्रका लागि भने राम्रो कथा खोजिरहेको बताउँदै आएका आकाश अब पुनः ठूलो पर्दामा फर्किने भएका छन् । अभिनेता श्रेष्ठले निर्देशक रुपेश तामाङको अनटाइटल एक्सन प्रोजेक्टमार्फत आफ्नो फिल्म कमब्याक पक्का गरेका हुन् ।
यसअघि ‘जय शम्भु’ र ‘दान्भी’ जस्ता एक्सन चलचित्र निर्देशन गरिसकेका रुपेश तामाङको निर्देशनमा बन्ने यो चलचित्र पूर्ण रूपमा एक्सन जनरामा निर्माण हुनेछ । चलचित्रमा आकाशलाई यसअघि नदेखिएको अवतारमा प्रस्तुत गर्ने तयारी गरिएको निर्माण पक्षले जनाएको छ ।
माघे सङ्क्रान्तिको अवसर पारेर आज अभिनेता आकाश श्रेष्ठ र निर्माण पक्षबीच औपचारिक सम्झौता भएको हो । आकाश यो चलचित्रलाई लिएर उत्साहित देखिएका छन् । उनले दर्शकको प्रतीक्षा विशेष हुने विश्वास व्यक्त गरेका छन् ।
चलचित्रको कथा सुमन गजमेरले तयार पारेका हुन् । चलचित्रको छायांकन फागुनको अन्त्यबाट सुरु गर्ने तयारी छ । चलचित्रको नाम, अन्य कलाकार तथा प्राविधिकबारे जानकारी क्रमशः सार्वजनिक गर्दै लैजाने निर्माण पक्षले जनाएको छ । जुना फिल्म्सको ब्यानरमा यो चलचित्र निर्माण हुनेछ ।