पोखरा : माछापुच्छ्रेको काख र फेवातालको किनारमा अवस्थित पोखरा, जसलाई हामी प्रायः प्राकृतिक सौन्दर्य र पर्यटनको राजधानीका रूपमा मात्र चिन्ने गर्छौं। तर, सोमबार माघ १९ गते जनप्रिय बहुमुखी क्याम्पसको सभाहलमा जुन विमर्श र घोषणा भयो, त्यसले पोखराको परिचयमा एउटा नयाँ र ओजपूर्ण विशेषण थप्ने जमर्को गरेको छ, प्राज्ञिक बहस र अनुसन्धानको अन्तर्राष्ट्रिय केन्द्रका लागि।
मुलुककै उत्कृष्ट सामुदायिक क्याम्पसको छवि बनाएको जनप्रिय बहुमुखी क्याम्पसले आगामी चैत १२ देखि १४ गतेसम्म आयोजना गर्न लागेको नेपालमा उच्च शिक्षाको रूपान्तरण: विश्व प्रतिस्पर्धातर्फका मार्गहरू विषयक अन्तर्राष्ट्रिय सम्मेलन केवल एक औपचारिक कार्यक्रम मात्र होइन; यो त शिथिल बन्दै गएको नेपालको उच्च शिक्षामा प्राण भर्ने एउटा महाअभियानको शङ्खघोष हो।
रूपान्तरणको आवश्यकता र जनप्रियको पहल
आजका युवाहरू हातमा डिग्रीको प्रमाणपत्र लिएर त्रिभुवन विमानस्थलबाट बाहिरिँदै गर्दा, नेपालको उच्च शिक्षा प्रणालीमाथि गम्भीर प्रश्नचिह्नहरू खडा भएका छन्। के हाम्रो शिक्षाले विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्छ? के हाम्रा विश्वविद्यालयहरूले ज्ञानको उत्पादन गरिरहेका छन् कि केवल प्रमाणपत्र वितरण? यिनै यक्ष प्रश्नहरूको उत्तर खोज्ने जमर्को जनप्रियले गरेको छ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा क्याम्पसको यही हुटहुटी प्रस्ट देखिन्थ्यो। क्याम्पस प्रमुख कृष्णबाबु बरालले निकै ओजपूर्ण र आत्मविश्वासका साथ सम्मेलनको औचित्य पुष्टि गरे। उनको भनाइमा केवल प्रशासनिक दायित्व मात्र थिएन, एउटा शैक्षिक नेतृत्वले बोक्ने दूरदर्शिता झल्कन्थ्यो।
क्याम्पस प्रमुख बरालले भने, हामीले वि.सं. २०७२ र २०७३ मा मुलुकभरिका सामुदायिक क्याम्पसहरू मध्येबाट उत्कृष्ट क्याम्पसका रूपमा पुरस्कृत हुने सौभाग्य पायौं। गण्डकी प्रदेश सरकारबाट पनि प्रदेशकै उत्कृष्ट सामुदायिक क्याम्पसका रूपमा सम्मानित भयौं। विश्वविद्यालय अनुदान आयोगबाट दुई पटक गुणस्तर सुनिश्चितता तथा प्रत्यायनको प्रमाणपत्र प्राप्त गरिसकेका छौं। अब हाम्रो यात्रा त्यतिमा मात्र सीमित छैन; तेस्रो चक्रको गुणस्तर सुनिश्चितताका लागि प्राज्ञिक अनुसन्धान, जर्नल प्रकाशन र अन्तर्राष्ट्रियस्तरको अनुसन्धानमूलक सम्मेलन अपरिहार्य बनेको छ। यो सम्मेलन हाम्रो संस्थागत आवश्यकता मात्र नभई राष्ट्रिय दायित्व पनि हो।
बौद्धिक महाकुम्भ: के हुँदैछ चैतमा?
आगामी चैत १२, १३ र १४ गते पोखरामा हुने यो सम्मेलनमा विचारको घनिभूत मन्थन हुनेछ। जहाँ नेपाल मात्र होइन, भारत, चीन, थाइल्यान्ड, बङ्गलादेश र अमेरिका लगायतका मुलुकका ख्यातिप्राप्त प्राज्ञ तथा शिक्षाविद्हरू एकै थलोमा उभिनेछन्।
सम्मेलनको खाका निकै रोचक छ। चारवटा देशका किनोट स्पिकर हरूको प्रस्तुतिले विश्व उच्च शिक्षाका नवीनतम आयामहरूलाई उजागर गर्नेछ। यसले हाम्रो परम्परागत शिक्षण सिकाइलाई कसरी प्रविधिमैत्री, अनुसन्धानमुखी र बजारसापेक्ष बनाउने भन्ने दिशाबोध गर्ने अपेक्षा गरिएको छ।
सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको त्यहाँ प्रस्तुत हुने ५० भन्दा बढी पियर रिभ्युड अनुसन्धानपत्रहरू हुन्। यी कार्यपत्रहरूले नेपालको उच्च शिक्षामा विद्यमान नीतिगत उल्झन, डिजिटल रूपान्तरणको सकस र दिगो विकास लक्ष्यका चुनौतीहरूलाई चिरफार गर्नेछन्।साथै, दुईवटा उच्चस्तरीय प्यानल छलफलले नीति निर्माताहरूलाई झकझकाउने काम गर्नेछ।

स्रोत व्यवस्थापन र पारदर्शिताको नमुना
ठूला सम्मेलनहरू प्रायः आर्थिक अभाव वा अपारदर्शिताका कारण विवादमा पर्ने गर्छन्। तर, सोमबारको पत्रकार सम्मेलनमा क्याम्पस प्रमुखले आर्थिक पाटोलाई पनि निकै पारदर्शी ढङ्गले प्रस्तुत गरे। १६ लाख रुपैयाँभन्दा बढी लागत अनुमान गरिएको यो सम्मेलनका लागि क्याम्पसले देखाएको अग्रसरता लोभलाग्दो छ।
सञ्चारकर्मीको जिज्ञासा मेटाउँदै क्याम्पस प्रमुख बरालले भने, सम्मेलन सम्पन्न गर्न करिब १६ लाख खर्च लाग्ने अनुमान छ। यसमा क्याम्पसले आफ्नो आन्तरिक स्रोतबाट १० लाख विनियोजन गरेको छ भने विश्वविद्यालय अनुदान आयोगबाट ३ लाख ५० हजार सहयोग प्राप्त भएको छ। बाँकी अपुग रकमका लागि हामीले स्थानीय तह र प्रदेश सरकारसँग सहकार्यको हात बढाउनेछौं। यो भनाइले के पुष्टि गर्छ भने, जनप्रिय बाह्य सहयोगको मात्र भर पर्दैन, आफ्नै खुट्टामा उभिएर प्राज्ञिक नेतृत्व लिन सक्षम छ।
पोखराको ब्रान्डिङ: पर्यटनदेखि प्राज्ञिक हबसम्म
यो सम्मेलनको अर्को लुकेको तर महत्त्वपूर्ण पाटो हो, पोखराको ब्रान्डिङ। पोखरालाई रमाइलो गर्ने ठाउँका रूपमा मात्र बुझ्ने भाष्यलाई चिर्दै यसलाई एकेडेमिक हब बनाउन यो सम्मेलन कोसेढुङ्गा साबित हुन सक्छ। जब ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताहरूले पोखराको भूमिमा बसेर ज्ञानको विमर्श गर्नेछन्, त्यसले यहाँको प्राज्ञिक पर्यटनमा नयाँ तरङ्ग ल्याउनेछ।
जनप्रिय बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष राजेन्द्र पहारीले कार्यक्रमको सभापतित्व गर्दै व्यक्त गरेको विचारले पनि यही कुरालाई इङ्गित गर्छ। पहारीले भने, जनप्रिय क्याम्पस पोखराको माटोमा हुर्किएको सामुदायिक संस्था हो। हामीले गर्ने हरेक गतिविधिले यो समाज र राष्ट्रलाई केही न केही दिनुपर्छ। यो अन्तर्राष्ट्रिय सम्मेलन पोखराको प्राज्ञिक गरिमा उच्च राख्ने एउटा ऐतिहासिक अवसर हो।

आशाको नयाँ किरण
सोमबार क्याम्पसको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा सहायक क्याम्पस प्रमुख नवीनराज खनालको स्वागत मन्तव्य र पर्यटन पत्रकार दीपेन्द्र पहारीको सञ्चालनले कार्यक्रमलाई थप ओजपूर्ण बनाएको थियो। अन्नपूर्ण सभाहलमा उपस्थित सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति र उनीहरूले राखेका जिज्ञासाले पनि यो विषयको गाम्भीर्यतालाई पुष्टि गर्थ्यो।
नेपालको उच्च शिक्षा दिशाहीन भइरहेको आरोप लागिरहेका बेला जनप्रिय बहुमुखी क्याम्पसले बालेको यो ज्ञानको दियो निकै अर्थपूर्ण छ। यसले कक्षाकोठाको सिकाइलाई अनुसन्धानसँग र विश्वविद्यालयलाई उद्योगसँग जोड्ने पुलको काम गर्नेछ।
चैतमा हुने यो महाकुम्भले निकाल्ने निष्कर्षहरू केवल दराजमा थन्किने प्रतिवेदनमा मात्र सीमित नहोऊन्, ती निष्कर्षहरूले नेपालको उच्च शिक्षा नीतिलाई डोर्याउन सकून्। जनप्रियले चालेको यो विश्व प्रतिस्पर्धी पाइलाले गन्तव्य चुमोस्। शुभकामना!