काठमाडौँ :
सुपरहिट बलिउड फिल्म ‘धुरन्धर’ को सिक्वेल ‘धुरन्धर २’ को अफिसियल टिजर सार्वजनिक गरिएको छ। अभिनेता रणवीर सिंह स्टारर फिल्मको टिमले मंगलबार टिजर सार्वजनिक गर्दै सिक्वेलको आधिकारिक नाम ‘धुरन्धरः द रिभेन्ज’ रहेको घोषणा गरेको हो ।
आदित्य धर निर्देशित यो फिल्म आगामी १९ मार्च २०२६ मा हिन्दी, तेलुगु, तमिल, कन्नड र मलयालम भाषामा विश्वव्यापी रूपमा प्रदर्शनमा आउनेछ।
‘धुरन्धर’ को पहिलो भाग सन् २०२५ डिसेम्बर ५ मा रिलिज भएको थियो। दमदार कथा, प्रभावशाली अभिनय र आक्रामक एक्सनका कारण फिल्मले बक्स अफिसमा उल्लेखनीय व्यापार गर्नुका साथै दर्शकबाट पनि सकारात्मक प्रतिक्रिया पाएको थियो । रिलिज भएको दुई महिना बित्न लाग्दा समेत फिल्मको चर्चा कायमै रहनु यसको सफलताको प्रमाण मानिएको छ।
पहिलो भागको उल्लेखनीय सफलतापछि दर्शकहरू ‘धुरन्धर २’ को प्रतीक्षामा थिए। सार्वजनिक टिजरले सिक्वेलप्रति दर्शकको उत्सुकता थप बढाएको देखिन्छ।
फिल्ममा रणवीर सिंहसँगै संजय दत्त, अर्जुन रामपाल, आर. माधवन, राकेश बेदी र सारा अर्जुन जस्ता चर्चित कलाकारहरूको महत्वपूर्ण भूमिका रहनेछ। विशेषगरी रणवीर सिंहलाई हमजा अली मजारीको भूमिकामा पुनः हेर्न फ्यानहरू उत्साहित देखिएका छन्।