काठमाडौं :
महाशिवरात्रीको दिन पारेर रेखा थापाको निर्देशनमा बन्ने फिल्म ‘माया भनेकै यस्तो होला’ निर्माण घोषणा गरिएको छ। आइतबार महाशिवरात्रीको शुभ अवसर पारेर यस फिल्मको निर्माण घोषणा गरिएको हो ।
रेखा यसै फिल्मबाट आठ वर्षपछि निर्देशनमा फर्किएकी हुन्। यसअघि उनले ‘‘हिम्मतवाली’ र ‘मालिका’ फिल्म निर्देशन गरेकी थिइन्। उनको यो यो तेस्रो निर्देशकीय फिल्म हो। यस फिल्ममा उनको अभिनय छैन। उनले पुर्व मिस नेपाल श्रृष्टि श्रेष्ठ,नम्रता श्रेष्ठ र नीति शाहलाई एकसाथ स्क्रिन सेयर गराउन लागेकी हुन्। उनीहरुका साथमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ,लक्ष्मी गिरी, राजाराम पौडेल, विशाल पहाडी, संगम भण्डारी, सुजाता श्रेष्ठ र बिनोद पौडेल लगायतको पनि अभिनय रहनेछ।
हरि नारायण श्रेष्ठ र माया देवी श्रेष्ठ निर्माता रहेको यस फिल्मले प्रेम कथाका माध्यमबाट सामाजिक भावनालाई उठान गर्ने निर्माण पक्षको भनाई छ। शीर्षकले नै यो एउटा सुमधुर प्रेमकथामा आधारित हुने प्रष्ट पार्छ।
पत्रकार सम्मेलनमा निर्देशक थापाले यो फिल्म हाम्रो आफ्नै समाजमा घटेका घटनामा रहेको बताइन् । उनले भनिन्, ‘यो फिल्ममा तपाईँको जीवनमा घटेका, मेरो जीवनमा घटेका र समाजले अनुभूति गरेका विषयहरूलाई उठाइएको छ। एउटा निर्देशकाको रूपमा मैले यसलाई मानिसहरूकै कथाको रूपमा प्रस्तुत गरेकी छु।’
यता मदनकृष्ण श्रेष्ठ पनि रेखाको निर्देशनको फिल्ममा अफर आउँदा कथा नै नहेरि ओके गरेको बताए। उनले भने,‘रेखा थापाको निर्देशनमा काम गर्न पाउनु आफूलाई एउटा छुट्टै संसारमा प्रवेश गरे झैँ लागेको छ। म केवल हास्य कलाकार मात्र होइन। परान जस्ता फिल्मबाट मैले आफूलाई गम्भीर भूमिकामा पनि प्रमाणित गरिसकेको छु । यस फिल्ममा पनि मेरो सशक्त भूमिका रहनेछ।’
यता अभिनेत्री सृष्टि श्रेष्ठले फिल्ममा काम गर्न पाउनु र दिग्गज कलाकारहरुसँग स्क्रिन सेयर गर्न पाउनु नै आफुलाई मायाको अर्को रुप जस्तो लागेको बताइन् । उनले रेखा थापाले आफु माथि गरेको विश्वासलाई प्रेमको रुपमा लिएकी भन्दै निर्देशक थापाको प्रशंसामा समय खर्चिइन्।
त्यसैगरि अभिनेत्री नम्रता श्रेष्ठले पनि रेखा थापालाई लिजेन्डरी व्यक्तित्वको संज्ञा दिँदै उनको निर्देशनमा काम गर्न पाउँदा आफू निकै उत्साहित रहेको बताईन्।
सुदीप बराल डिओपी रहने यस फिल्ममा अनिरुद्ध आत्रेय प्रमुख सहायक निर्देशक, राजन घिमिरे फिल्म कोअर्डिनेटर, संगीत प्रशान्त सिवाकोटी, ड्रेस डिजाइनर सुजेनी मल्ल, मेकअप प्रिया कार्की, प्रोडक्सन सुमन तिवारी रहेका छन्। निर्माण पक्षका अनुसार फिल्मको छायांकन फागुनको दोस्रो साताबाट सुरु हुनेछ। निर्माण टोलीले यस फिल्मलाई आगामी वर्षको तीजको अवसर पारेर प्रदर्शन गर्ने लक्ष्य राखेको छ ।