सुचना, समाचार र मनोरन्जन

म्याग्दीका ज्येष्ठ नागरिकहरू भन्छन्– ‘वर्षौंदेखि भोट हाल्दै आयौँ, तर विकास पाएनौँ’

 

म्याग्दी : बेनी नगरपालिका– ४ मा पर्ने थामडाँडा गुरुङ बाहुल्यताको बस्ती हो। यो गाउँ सदरमुकाम बेनी बजारबाट नजिकै पर्छ। सोही गाउँका बासिन्दा हुन् ८८ वर्षीय जगतबहादुर गुरुङ पनि।

 

गुरुङले गएको ६५ वर्षदेखि विभिन्न व्यक्ति र पार्टीलाई निर्वाचनमा मत दिँदै आएका छन्। उनको गुनासो छ, “यतिका वर्षदेखि भोट हाल्दै आएँ, न गतिलो बाटोघाटो पाएँ, न पुल पुलेसा, न खानेपानी र सिँचाइको सुविधा। खोइ अब त भोट पनि किन हाल्ने हो र जस्तो लाग्न थालेको छ।”

 

सोही गाउँकी ८६ वर्षीया सतदेवी गुरुङले भने, “छोरा नाति हुर्किएपछि विदेश जानुपर्छ, न देशमा काम पाइन्छ, न पौरख गरेर उत्पादन गरेको फलफूल अन्नपातको राम्रो पैसो पर्छ। सिंगा जान पुल छैन, बजार जान गतिलो मोटरबाटो छैन। चुनावको बेला कोको आउँछन्, यो गर्छु र त्यो गर्छु भनेर भोट माग्छन्। जितेपछि नाकमुखै देखाउँदैनन्।”

 

बेनी नगरपालिका– २ बगरफाँटका ९२ वर्षीय वेदप्रसाद उपाध्यायले पनि भोट दिँदादिँदा थाकिसकेको तर नेताहरूले भनेजस्तो अझै नभएको बताए। उपाध्यायले भने, “पहिलाको तुलनामा विकास र सुविधा हुँदै नभएको त होइन, तर भनेजस्तो र जनताले चाहेजस्तो अझै हुन सकेको छैन।”

 

छोरा नाति हुर्किएपछि विदेश जानुपर्छ, न देशमा काम पाइन्छ, न पौरख गरेर उत्पादन गरेको फलफूल अन्नपातको राम्रो पैसो पर्छ। सिंगा जान पुल छैन, बजार जान गतिलो मोटरबाटो छैन। चुनावको बेला कोको आउँछन्, यो गर्छु र त्यो गर्छु भनेर भोट माग्छन्। जितेपछि नाकमुखै देखाउँदैनन्

 

म्याग्दीका ज्येष्ठ नागरिक मतदाताहरूका यी प्रतिनिधिमूलक भनाइबाट दशकौँदेखि विभिन्न पार्टीका उम्मेदवारलाई भोट हाल्दै आएको तर आफूले चाहेको विकास अझैसम्म पनि नदेखिएको गुनासो व्यक्त भएको छ। चुनाव प्रचारका क्रममा गाउँगाउँ पुगेका उम्मेदवार तथा नेताहरूसँग भेट हुँदा उनीहरूले खुलेरै असन्तुष्टि व्यक्त गर्ने गरेका छन्।

 

ज्येष्ठ मतदाताहरू भन्छन्, “हामीले जीवनभर भोट हाल्यौँ, तर सडक, स्वास्थ्य, शिक्षाजस्ता आधारभूत सुविधा अझै पनि अपूरा छन्। भोट हाल्दाहाल्दै बूढो भयौँ तर विकास भने देख्न पाएनौँ।”

 

उनीहरूले विशेषगरी ग्रामीण भेगमा अझै पनि यातायात, खानेपानी, स्वास्थ्य सेवा र रोजगारीको अवसर अभाव रहेको उल्लेख गर्दै नेताहरूलाई प्रश्न गर्ने गरेका छन्। “हामीलाई चुनावमा सम्झिन्छन्, तर चुनाव सकिएपछि हाम्रो आवाज हराउँछ”, मङ्गला गाउँपालिका–५ का ७६ वर्षीय हरिकृष्ण पौडेलले भने।

 

चुनाव प्रचारका क्रममा उम्मेदवारहरूले भने आगामी दिनमा विकासका कामलाई प्राथमिकता दिने आश्वासन दिएका छन्। उनीहरूले सडक विस्तार, रोजगारी, पर्यटन, स्वास्थ्यचौकी सुदृढीकरण, शिक्षा सुधार र कृषि क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जनाएका छन्। तर, ज्येष्ठ नागरिकहरू भने यस्ता आश्वासन विगतमा पनि धेरै पटक सुनेको तर व्यवहारमा नदेखिएको भन्दै आशङ्का व्यक्त गरे।

 

म्याग्दीका ग्रामीण क्षेत्रका ज्येष्ठ मतदाताहरूको गुनासोले स्थानीय विकासको वास्तविक अवस्था उजागर गरेको छ। दशकौँदेखि लोकतान्त्रिक अभ्यासमा सक्रिय रहँदै आएका उनीहरूले अब ठोस काम देख्न चाहेको स्पष्ट सन्देश दिएको स्थानीय यादव रिजालले बताए।

 

चुनावी माहोल तात्दै गर्दा ज्येष्ठ मतदाताहरूको आवाजले उम्मेदवारहरूलाई चुनौती दिएको छ। भोट मात्र होइन, अब परिणाम देखाउनुपर्ने समय आएको छ।

 

मालिका गाउँपालिका–२ रुमका ७९ वर्षीय टेकबहादुर विकले भने, “हामीले जीवनभर भोट हाल्यौँ। सडक अझै अधुरा छन्, अस्पतालमा औषधि छैन, छोराछोरी रोजगारीको खोजीमा विदेश जानुपरेको छ। भोट हाल्दाहाल्दै बूढा भयौँ तर विकास भने देख्न पाएका छैनौँ।”

 

त्यस्तै, सोही स्थानकी ७० वर्षीया जमुना थापा भन्नुहुन्छ, “चुनाव आउँदा नेताहरू ढोग्छन्, हात समात्छन्, आशीर्वाद माग्छन्। तर चुनाव सकिएपछि हाम्रो गाउँमा फर्केर हेर्ने कोही हुँदैन।” म्याग्दीमा उम्मेदवारहरूले रोजगारी, प्रविधि, शिक्षा र स्वास्थ्यलाई मुख्य एजेण्डा बनाएका छन्। जनभेटघाटमा उनीहरूले वृद्धवृद्धासँग आशीर्वाद लिने, हात समातेर केही पाइला हिँड्ने, परिवारको हालखबर सोध्नेजस्ता आत्मीय व्यवहार देखाइरहेका छन्। तर मतदाताहरूले यस्ता व्यवहारलाई चुनावी रणनीति मात्र ठानेका छन्।

 

उम्मेदवारहरूले ग्रामीण सडक विस्तार, स्वास्थ्यचौकी सुदृढीकरण, शिक्षा सुधार र कृषि क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जनाएका छन्। तर ज्येष्ठ नागरिकहरू विगतमा पनि यस्ता आश्वासन धेरै पटक सुनेको तर व्यवहारमा नदेखिएको भन्दै शङ्का व्यक्त गरिरहेका छन्। ज्येष्ठ मतदाताहरूले अब ठोस काम देख्न चाहेको स्पष्ट सन्देश दिएका छन्। उनीहरूको भनाइमा, “हामीलाई भोट माग्न आउनुहोस्, तर चुनाव सकिएपछि पनि हाम्रो गाउँमा फर्केर हेर्नुहोस्। हामीलाई आधारभूत सुविधा दिनुहोस्।”

 

ज्येष्ठ मतदाताहरूका यी गुनासाहरूलाई उम्मेदवारहरूले पनि गम्भीररुपमा लिएका छन्। नेपाली कांग्रेसका उम्मेदवार कर्णबहादुर भण्डारीले ज्येष्ठ नागरिकहरूको चाहना पूरा गर्नेगरी काम गर्ने बताए। जनताले खोजेको सुशासन, रोजगारी र भ्रष्टाचारको अन्त्य  नै आफ्नो मुख्य एजेण्डा भएको बताए। उनले भने, “उनीहरूको गुनासोलाई म आत्मसात गर्दै विभाजनको राजनीति होइन सबैलाई समेट्ने विकासको बाटोमा लाग्ने प्रतिबद्धता व्यक्त गर्दछु। मतदाताको विश्वासलाई कामबाटै प्रमाणित गर्छु।”

 

त्यस्तै नेकपा (एमाले) का उम्मेदवारका हरिकृष्ण श्रेष्ठले नेकपा एमाले जनताको सुख दुःखमा सधैँभरि जनतासँगै रहेको बताउँदै जनताको चाहनाअनुसार नै आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने, “समाजलाई विभाजन गर्ने भाषाशैली होइन, जनताको पक्षमा उभिने राजनीति आवश्यक छ। गरिब, किसान र युवाका मुद्दा संसद्मा बलियो रूपमा उठाउनेछौँ।”

 

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार अर्जुनबहादुर थापाले “म्याग्दीमा अधुरा विकास योजना पूरा गर्नु आफ्नो प्राथमिकता भएको बताए। उनले भने “आश्वासन होइन, स्पष्ट योजना र समयसीमासहित काम गरेर देखाउने हाम्रो लक्ष्य छ।”

 

त्यस्तै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीबाट राजिनामा दिएर म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बनेका महावीर पुनले आफूलाई परम्परागत राजनीतिभन्दा फरक भएको दाबी गर्दै भने। “जनताले पुरानो शैली अस्वीकार गरिसकेका छन्। पारदर्शिता, जवाफदेहिता र परिणाममुखी काम नै मेरो पहिचान हुनेछ।”

 

एउटा मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा कूल ८६ हजार ३९७ मतदाता कायम भएका छन्। यस जिल्लामा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल र स्वतन्त्र गरी १२ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन्।

Leave A Reply

Your email address will not be published.