सुचना, समाचार र मनोरन्जन

निर्वाचनलाई लक्ष्य गरी बाँकेको सीमावर्ती क्षेत्रमा सुरक्षा सतर्कता

 

बाँके : फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्ष्य गरी बाँकेको सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्था चुस्त बनाइएको छ।

 

निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन बाँकेको नेपाल–भारत सीमामा उच्च सतर्कता अपनाउनुका साथै सुरक्षा व्यवस्था कडा पारिएको बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले जानकारी दिए।

 

उनका अनुसार नेपाल–भारत मुख्य नाका जमुनाहलगायत अन्य सहायक नाकाबाट समेत आवतजावतमा रोक लगाइएको छ। सीमानाकामा नेपाल र भारत दुवै देशका सुरक्षाकर्मीले संयुक्त सुरक्षा गस्तीदेखि लिएर जाँचमा पनि कडाइ गरिरहेका छन्।

 

प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई मध्यनजर गर्दै फागनु १८ गते राति १२:०० बजेदेखि फागुन २१ गते राति १२:०० बजेसम्म नेपाल–भारत जमुनाहानाका पूर्ण रूपमा बन्द रहेको छ। यसैगरी क्षेत्र नं १ को नरैनापुर, क्षेत्र नं २ को डुडुवा, क्षेत्र नं ३ को जानकी र खजुरा गाउँपालिकास्थित सीमावर्ती क्षेत्रमा पनि सुरक्षा जाँचमा कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी तामाङले जानकारी दिए।

 

तीन निर्वाचन क्षेत्र रहेका बाँकेमा १३९ मतदानस्थल र ४०३ मतदान केन्द्र निर्धारण गरिएको छ। जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीका अनुसार बाँकेमा तीन लाख ५० हजार ३७१ मतदाता छन्। जसमध्ये एक लाख ७२ हजार २२३ महिला, एक लाख ७८ हजार ३३९ पुरुष र नौ जना अन्य मतदाता रहेका छन्।

Leave A Reply

Your email address will not be published.