गलकोट : आमयुवा र हाम्रो बागलुङ, हाम्रो जिम्मेवारीका संस्थापक सोम शर्मा युवाको आवाजलाई सडकबाट संसद्को यात्रा थालेका छन्। हालै रास्वपामा आबद्ध शर्माले पश्चिम बागलुङको क्षेत्र नं २ को निर्वाचन जित्न सफल भएका छन्। ३४ वर्षीय शर्मा सामाजिक अभियान्ता, जेनजी आन्दोलनका अगुवा हुँदै प्रतिनिधिसभा सदस्य हुन सफल भए।
शर्माले बागलुङ–२ मा १२ हजार ६४७ मत ल्याएर निर्वाचित भए। उनले कांग्रेसका टेकराज पौडेललाई ७७९ मतले पछाडि पार्दै निर्वाचन जितेका हुन्। यहाँ खसेको ४७ हजार २०७ मतमा शर्माका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार पौडेलले ११ हजार ६८ मत प्राप्त गरेका थिए। त्यसैगरी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का ज्ञामनाथ गैरेले १० हजार ७०९ मत प्राप्त गर्दा नेकपा (एमाले)का मञ्जु शर्मा चालिसेले सात हजार ८६४ मत प्राप्त गरिन्। यस क्षेत्रमा ११ उम्मेदवार चुनावी मैदानमा थिए।
कोरोनापीडितका सहयात्रीदेखि जेन्जी अगुवासम्म
बागलुङ बजारमा इलेक्टोनिक्स पसल सञ्चालन गरेका शर्मा कोरोनाअघि काठमाडौँ पुग्नुभएको थियो। जेनजी आन्दोलन र नागरिक खबरदारीको अगुवाका रूपमा चिनाउने शर्मा कोरोनाकालमा सडकमा खाना बाड्दै काठमाडौँमा हिँडेका थिए। कोरोना, विपद्, गरिबी तथा समाजका विभिन्न क्षेत्रका सेवाको सारथीका रूपमा चिनिएका उनी राजनीतिमा नयाँ अनुहारका रूपमा संसद् छिरेका छन्। विसं २०४८ पुस २९ मा बागलुङ नगरपालिका–१२ मा शर्मा जन्मिएका हुन्।
एक प्रतिबद्ध, नैतिक र सुधारमुखी व्यक्तित्व भएका युवा नेताका रूपमा चिनिन थालेका शर्मालाई पहिलोपटक नै जनताले अनुमोदन गरेका छन्। विद्रोही युवाका रूपमा रहेका शर्माले सामाजिक सञ्जालबाट सुशासनको पक्षमा बोल्दै आउएका थिए।
रास्वपाको राजनीति, समाजसेवा र व्यावसायिक नेतृत्वमार्फत आफ्नो क्षेत्र र समुदायको विकासमा योगदान पुर्याउन निर्वाचनमा होमिएका शर्माले बागलुङको पश्चिम क्षेत्र विकट नभएर विकट बनाइएको बताउँछन्। “बागलुङको पश्चिम क्षेत्रलाई विकट मानियो, तर विकट बनाइएको हो, अब विकट रहँदैन, पर्यटनमार्फत यहाँको विकास हुन्छ, निर्वाचित सांसद गाउँ नआएको गुनासो अब रहन्न, म नियमित गाउँ र सदनलाई जोड्नेछु।”
त्रिभुवन विश्वविद्यालय, रत्नराज्य क्याम्पसबाट राजनीतिशास्त्र र आम सञ्चार विषयमा स्नातक तह अध्ययन गरेका शर्माले कम्प्युटर, नेटवर्किङ र कृषि उद्यमशीलतासम्बन्धी विभिन्न तालिम लिइसक्नुभएको छ।
पेसागत जीवनमा उनीसँग कम्प्युटर शिक्षक, प्राविधिक विशेषज्ञ र व्यवस्थापन निर्देशकका रूपमा कार्य गरेको अनुभव छ। विकासमा पछि परेको बागलुङ पश्चिम क्षेत्रको भूगोललाई राष्ट्रिय रूपमा चिनाउँदै पर्यटकीय क्षेत्रका रूपमा चिनाउने शर्माको अठोट छ।