सुचना, समाचार र मनोरन्जन

आँचल शर्माको मुख्य भूमिका रहेको ‘एक मुठ्ठी बादल’ जेठ १ मा प्रदर्शनमा

काठमाडौं :

अभिनेत्री आँचल शर्मा मुख्य भूमिकामा देखिएको फिल्म एक मुठ्ठी बादल : माई सेयर अफ स्काई आगामी जेठ १ गतेदेखि प्रदर्शनमा आउने भएको छ। अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर निर्माण कम्पनी गौंथली इन्टरटेनमेन्ट ले आइतबार फिल्मको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो।

फिल्ममा आँचलसँगै अभिनेत्री निशा शर्मा, उषा रजक तथा कलाकारहरू भिमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईँ, मनिष निरौला, सहयोग अधिकारी, गौरव विष्टअविरलप्रताप अधिकारी को अभिनय रहेको छ। विशेषगरी अभिनेत्री निशा शर्मा करिब तीन दशकपछि अभिनयमा फर्किएकी भएकाले फिल्मप्रति थप चासो बढेको देखिन्छ।

लेखिका तथा निर्देशक सहारा शर्मा को लेखन तथा निर्देशनमा तयार भएको फिल्मलाई नेपालमा आरआर फिल्म्स ले वितरण गर्नेछ। गौंथली इन्टरटेनमेन्टमन प्रडक्सन को सहकार्यमा बनेको फिल्ममा अभिमन्यु दीक्षित निर्माता तथा निकुन श्रेष्ठ कार्यकारी निर्माता रहेका छन्।

तीन पुस्ताको कथा प्रस्तुत गर्ने फिल्मले बदलिँदो नेपाली समाजको पृष्ठभूमिमा परिवारभित्रका अपेक्षा, त्याग र व्यक्तिगत आकांक्षालाई समेट्ने बताइएको छ। साथै, फिल्मले Hubert Bals Fund अन्तर्गतको ‘युरोपियन पोस्ट–प्रोडक्सन ग्रान्ट’ प्राप्त गर्ने पहिलो नेपाली फिल्मको रूपमा समेत इतिहास रचिसकेको छ।

Leave A Reply

Your email address will not be published.