काठमाडौं :
नेपाली कथानक चलचित्र ‘मुक्तिपुर’ को शुभमुहूर्तसँगै छायांकन सुरु भएको छ। मंगलबार काठमाडौंको बसुन्धारास्थित इन्द्रायणी मन्दिरमा क्ल्याप तथा स्क्रिप्ट पूजा गर्दै चलचित्रको औपचारिक रूपमा छायांकन थालिएको हो। कार्य सफलताको कामनासहित गरिएको पूजाअर्चनामा निर्माण टिम, कलाकार र प्राविधिकहरूको उपस्थिति रहेको थियो।
सुनिल पाण्डेको निर्देशनमा बन्ने फिल्ममा अभिनेता नाजिर हुसैन, गौरव पहारी, प्रकाश शाह र एवनराज उप्रेती मुख्य भूमिकामा देखिनेछन्। साथै म्युजिक भिडियोमार्फत चिनिएकी आकृति बुढाथोकी यसै चलचित्रबाट अभिनेत्रीका रूपमा रजतपटमा डेब्यू गर्दैछिन्।
चलचित्र साहिबा फिल्म्स प्रोडक्सनको ब्यानरमा एभरेष्ट फिल्म एकेडेमीको सहकार्यमा निर्माण हुन लागेको हो। छोटा चलचित्र र वृत्तचित्र निर्देशनमा अनुभव हासिल गरेका निर्देशक पाण्डेका लागि ‘मुक्तिपुर’ ठुलोपर्दाको पहिलो निर्देशन हुनेछ। फिल्मको कथा पनि उनकै रहेको छ।
क्राइम–रिभेञ्ज जनरामा बन्ने फिल्मले बदलाको कथालाई केन्द्रमा राख्नेछ। निर्देशक पाण्डेका अनुसार एक परिवारसँग सम्बन्धित पात्रको जीवनमा घट्ने महत्वपूर्ण घटनापछि उत्पन्न हुने परिस्थिति, संघर्ष र सफलताको कथालाई फिल्मले प्रस्तुत गर्नेछ।
निर्माता विजय राजवंशी र रोशन पासवान रहेको चलचित्रमा विशाल श्रेष्ठ कार्यकारी निर्माता तथा केशव गौतम सह–निर्माता छन्। सञ्जय गुरुङ र सुरज चौधरी लाइन प्रोड्युसर रहेको फिल्ममा द्वन्द्व निर्देशन सम्राट बस्नेत, छायांकन सरद महतो, कला निर्देशन अकी थाक्पा र प्रोडक्सन हेड रुपक प्रताप अधिकारीको रहनेछ।
अभिनेता नाजिर हुसैनले ‘मुक्तिपुर’ आफ्नो करियरको महत्वपूर्ण चलचित्र हुने विश्वास व्यक्त गरेका छन्। उनले फिल्मले आफूलाई अघिल्ला भूमिकाभन्दा फरक शैलीमा दर्शकमाझ प्रस्तुत गर्ने बताए। ४० दिनको छायांकन तालिकासहित फ्लोरमा गएको फिल्मको प्रदर्शन मिति भने अझै तय गरिएको छैन। कार्यकारी निर्माता विशाल श्रेष्ठका अनुसार छायांकन सकिएको करिब ६ महिनाभित्र चलचित्र प्रदर्शनमा ल्याउने लक्ष्य रहेको छ।