सुचना, समाचार र मनोरन्जन

तथ्याङ्कको ऐना र समाचारको कथा: गण्डकीमा ‘डेटा जर्नालिज्म’ को नयाँ विहान

सुरेश रानाभाट/परिचय

नेपाली पत्रकारिताको न्युजरुमहरूमा एउटा पुरानो ठट्टा छ, नेताले खोके पनि समाचार बन्छ, तर विकासका अङ्कहरूले रुवाउँदा पनि वास्ता हुँदैन। हिजोसम्मको हाम्रो पत्रकारिता मूलतः भनाइ  र घटनाको वरिपरि घुमिरह्यो। कसले कसलाई के भन्यो र कहाँ के भयो भन्ने कुराले नै हाम्रा समाचारका पानाहरू भरिए। तर, समयको गतिसँगै अब पत्रकारिताको आयतन र परिभाषा बदलिएको छ। अबको युग भाषणको होइन, तथ्याङ्कको हो।

यही बदलिँदो वैश्विक परिवेशलाई आत्मसात् गर्दै पोखरामा एउटा यस्तो महाकुम्भ सुरु भएको छ, जसले गण्डकी प्रदेशको पत्रकारितालाई नयाँ युगमा प्रवेश गराउने हुटहुटी बोकेको छ। गण्डकी प्रदेश सरकार, प्रेस रजिष्ट्रारको कार्यालयको आयोजना र सेन्टर फर मिडिया रिसर्च-नेपालको प्राविधिक सहयोगमा सुरु भएको डेटा ड्रिभन जर्नालिज्म कोर्स २०२६ तथ्याङ्क पत्रकारिता तालिम केवल एउटा नियमित कार्यशाला मात्र होइन; यो त परम्परागत पत्रकारिताको सिंहावलोकन र रूपान्तरणको महाअभियान हो।

भाषणबाट तथ्यतिर: पत्रकारिताको नयाँ प्रस्थान

तालिमको उद्घाटन गर्दै गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाले एउटा गम्भीर प्रश्न उठाए “के प्रदेश सरकार महँगो मात्र भएको हो ? के यसले काम नै नगरेको हो त ?” उनले यी प्रश्नहरूको उत्तर केवल भावनामा बगेर होइन, व्यवहारिकता र तथ्यमा खोज्न पत्रकारहरूलाई आग्रह गरे।

डा. देवकोटाको तर्क थियो, तथ्यहरूलाई समाचारमा रूपान्तरण गर्दा गोलमटोल नगरी विश्लेषण र व्याख्यामा चुक्नु हुँदैन। तथ्यलाई संश्लेषण गरी सूचनामा रूपान्तरण गर्नु नै बुद्धिमता हो।उनले पत्रकारहरूलाई संविधानले निर्धारण गरेको अधिकार मुताविक प्रदेशले काम गरेको छ कि छैन भनी खोज र अनुसन्धान गर्न प्रेरित गरे। जनताले ७ वर्षमा पाउने डेलिभरी ३ वर्षमै पाउनुपर्छ, र यो मुद्दा उठाउने काम पत्रकारिताको हो, उनले थपे। उनको यो भनाइले सहभागी १८ जना पत्रकारहरूलाई सरकारी वेभसाइट, बजेटका रातो किताब र नीतिगत दस्तावेजहरूभित्र लुकेका समाचारका खानी खन्न उत्साहित तुल्याएको छ।

अङ्कभित्र लुकेका मानवीय कथा र ब्रह्मास्त्र

हाम्रो अगाडि सूचनाको अभाव छैन, बरु सूचनाको बाढी र मिथ्या सूचनाको महामारी छ। यस्तो बेला डेटा जर्नालिज्मले एउटा ब्रह्मास्त्रको काम गर्छ। प्रेस रजिष्ट्रार बिमला भण्डारीका अनुसार, यो तालिम पत्रकारिता रूपान्तरणको एउटा कडी हो।

आजसम्म हामी प्रेस विज्ञप्तिमा भर पर्‍यौँ। नेताका भाषणलाई हुबहु उतार्यौँ। तर अब पत्रकारलाई विज्ञप्तिमा निर्भर हुनबाट बचाएर आफैँ तथ्य खोज्न सक्ने स्वतन्त्र विश्लेषक बनाउनु यो तालिमको उद्देश्य हो, भण्डारीले दृढताका साथ भनिन्। उनले थपिन्, भाषणभन्दा बलियो तथ्याङ्क हुन्छ। यो तालिम केवल ६ दिनका लागि मात्र होइन, यो त एउटा लामो शैक्षिक कोर्स हो जसले पत्रकारको क्षमता विकासमा बौद्धिक लगानी गर्छ।

एउटा सामान्य रिपोर्टरले सयौँ पृष्ठको सरकारी प्रतिवेदन पढेर एउटा समाचार बनाउँला, तर डेटा जर्नालिज्मको सीप भएको पत्रकारले स्प्रेडसिटको प्रयोग गरी सेकेन्डमै ती अङ्कहरूलाई केलाएर त्यहाँभित्र रहेको भ्रष्टाचार, सुशासनको अभाव वा समाजको वास्तविक चित्रलाई ग्राफ र चार्टमार्फत छर्लङ्ग पार्न सक्छ।

न्युजरुमको रूपान्तरण र प्रयोगात्मक सिकाइ

काठमाडौँबाट पोखरा आइपुगेका सञ्चारविज्ञ उमेश श्रेष्ठ र चेतना कुँवरको काँधमा १८ जना उर्जावान् पत्रकारको तथ्याङ्कको भोक मेटाउने जिम्मेवारी छ। श्रेष्ठका अनुसार, यो तालिम क्लासरुमको ज्ञानलाई न्युजरुमसम्म पुर्‍याउने एउटा सेतु हो।

प्रतिसहभागी करिब ९९ हजार रुपैयाँ शुल्क लाग्ने यो उच्चस्तरको कोर्स पूरा गरेपछि समाचार प्रस्तुतिमा एउटा ठूलो फरकपन आउनेछ, श्रेष्ठले दाबी गरे। जनताको करबाट सञ्चालित सरकारी संयन्त्रको खर्चमा मितव्ययिता अपनाउन यो तालिम काठमाडौँमा नगरी पोखरामा नै आयोजना गरिनु आफैँमा एउटा प्रशंसनीय कार्य हो। तालिम केवल ६ दिनको भौतिक बसाइमा मात्र सीमित छैन; यसपछि ६ हप्तासम्म अनलाइनमार्फत मेन्टरिङ हुनेछ र पुनः मे महिनामा अर्को भौतिक सत्र चल्नेछ। यो लामो र सघन प्रक्रियाले पत्रकारहरूलाई डेटा स्टोरी टेलिङमा पारङ्गत बनाउनेछ।

गण्डकीको सिङ्गो चित्र: समावेशी र उत्साहजनक उपस्थिति

तालिम हलभित्र छिर्दा लाग्छ, त्यहाँ सिङ्गो गण्डकी प्रदेश अटाएको छ। मनाङ र मुस्ताङको चिसो हावादेखि नवलपुरको रापसम्म, र दलित, मुस्लिम, जनजाति एवं महिला पत्रकारहरूको समावेशी उपस्थिति यस तालिमको अर्को सुन्दर पक्ष हो। १८ जना सहभागीहरू २५ वर्षदेखि ५४ वर्षसम्मका छन्, जसले पत्रकारितामा उमेरले होइन, नयाँ कुरा सिक्ने हुटहुटीले काम गर्छ भन्ने प्रमाणित गरेको छ।

तालिममा गोरखाका मोहसिन अलिमियाँ र प्रकाश ढकालदेखि मनाङका नवीन लामिछाने र मुस्ताङका आदित्य रसाइलीसम्म एउटै टेबलमा बसेर तथ्याङ्कको क्लिनिङ र भिजुअलाइजेसनमा मग्न छन्। कास्कीका राजाराम पौडेल, म्याग्दीका घनश्याम खड्का, बागलुङका विजय राना र पर्वतका महेन्द्र जिसी जस्ता अनुभवी सञ्चारकर्मीहरूको सक्रियताले गण्डकी प्रदेशको पत्रकारितामा एउटा बौद्धिक जागरण आएको महसुस गराउँछ।

साझा चिन्ता र सुशासनको मार्ग

तालिमको उद्घाटन सत्रमा प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य केशवशरण लामिछाने, पत्रकार महासङ्घ गण्डकीका अध्यक्ष रमेश पौडेल र कास्कीका अध्यक्ष माधव बराल लगायतले पत्रकारिताको गुम्दै गएको विश्वसनीयता फर्काउन यस्ता सीपमूलक कार्यक्रमको अपरिहार्यता औँल्याए। पूर्व प्रशिक्षित पत्रकार दुर्गा रानामगरले आफ्नो अनुभव साट्दै भनिन् यो सीपले समाचारलाई हेर्ने मेरो नजर नै बदलिदियो। सहभागी १८ जना सञ्चारकर्मी अब केवल समाचारदाता मात्र होइन, आफ्ना जिल्लाका लागि डेटा फोकल पर्सन बन्ने तयारीमा छन्।

तालिमको स्रोत व्यक्तिका रुपमा उमेश श्रेष्ठ र चेतना कुँवर रहेका छन् । प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य केशव शरण लामिछाने, नेपाल पत्रकार महासङ्घ गण्डकीका अध्यक्ष रमेश पौडेल, न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य बासुदेव मिश्र, सञ्चार समन्वय समिति गण्डकीका सदस्य दीपेन्द्र श्रेष्ठ, पूर्व प्रशिक्षार्थी दुर्गा राना मगर लगायतले बोलेका थिए ।प्रेस रजिष्ट्रार बिमला भण्डारीको अध्यक्षतामा भएको उद्घाटन सत्रको सञ्चालन प्रेस रजिष्ट्रारको कार्यालयका प्रसारण शाखा प्रमुख राजेश पौडेलले गरेका थिए।

नयाँ युगको सूत्रपात

पोखराको यो आवासीय बुटक्याम्पबाट बाहिरिँदा यी १८ जना पत्रकारको हातमा एउटा प्रमाणपत्र मात्र हुनेछैन, उनीहरूको ल्यापटपमा समाजलाई झक्झकाउने नयाँ डेटा स्टोरी र दृष्टिकोण हुनेछ। प्रेस रजिष्ट्रार बिमला भण्डारीले भनेझैँ, यो तालिम पत्रकारितामा क्रियात्मक रूपान्तरण को एउटा महाअभियान हो।जब तथ्याङ्कले बोल्न थाल्छ, तब हल्लाहरू शान्त हुन्छन् र सत्यको आवाज बुलन्द हुन्छ। गण्डकी प्रदेश सरकारको यो लगानीले भोलिका दिनमा बजेटका अंकहरूभित्र लुकेका बेथिति उकास्न र संविधानले दिएको अधिकारको कार्यान्वयनमा राज्यलाई जवाफदेही बनाउन इन्धनको काम गर्नेछ। अबको पत्रकारिता केवल ‘कसले के भन्यो’ मा मात्र होइन, ‘अङ्कले के देखायो’ भन्ने तथ्यमा अडिनेछ। पोखराबाट सुरु भएको यो डेटा जर्नालिज्मको यात्रा नेपाली पत्रकारिताको इतिहासमा एउटा कोसेढुङ्गा साबित हुने निश्चित छ।

Leave A Reply

Your email address will not be published.