सुचना, समाचार र मनोरन्जन

पोखरेलीलाई ‘कनेक्टिभिटी’ सहज बनाउन पूर्वेलीको सुझाव

गण्डकी,

पूर्वी नेपालका सहरमा पर्यटकहरूलाई पोखरा बोलाउन ‘जाउँ है पोखरा’ कार्यक्रमका साथ सोमबारदेखि निस्केको होटल सङ्घ नेपाल (हान) पोखराको टोलीलाई पूर्वी नेपालका व्यवसायीले ‘कनेक्टिभिटी’ सहज बनाउन आग्रह गरेका छन् ।

नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी नेतृत्वको टोलीलाई वीरगन्जमा यहाँका पर्यटन व्यवसायी, उद्योग व्यवसायी एवं सञ्चारकर्मीले कनेक्टीभिटी सहज बनाउनका लागि आग्रह गरेका हुन् ।

पर्यटकका लागि हवाई एवं सडक सञ्जालको सहज पहुँच आवश्यक भएकाले उनीहरूले त्यसका लागि वातावरण बनाउन अपरिहार्य भएको बताए । मधेस प्रदेशका पूर्वमन्त्री ओमप्रकाश शर्मा विगतमा सञ्चालनमा आइसकेको पोखरा–सिमरा उडान रोकिनु दुःखद् विषय भएको बताए ।

यस उडानलाई पुनः सञ्चालन गराउन आफ्नातर्फबाट पनि पहल गर्ने बताउँदै उनले यात्री अभाव हुँदा जहाज कम्पनीलाई हुने घाटा ब्यहोरेर भए पनि सरकार र निजी क्षेत्रबीचको सहकार्यमा उडान सुरु गर्नुपर्ने सुझाव व्यक्त गरे ।

वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद गौतमले नयाँ बन्ने सरकारले पर्यटन नीति सुधार गरे देशले आर्थिक समृद्धिमा फड्को मार्न सक्ने बताउनुुभयो । सीमानाकामा भारतीय पर्यटकलाई तीन किलोमिटर दूरीमा सात ठाउँमा सुरक्षा जाँच गर्ने गरिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।

भारतीय पर्यटक नेपाली पर्यटनको आधार बन्न सक्ने बताउँदै उनले कनेक्टिभिटी सहज बनाउनुुका साथै आवश्यक पूर्वाधार विकासमा जोड दिनुपर्ने बताए ।

नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशका अध्यक्ष श्याम बञ्जाराले राज्यको नीतिगत त्रुटिका कारण पर्यटन व्यवसाय समस्यामा परिरहेको बताउँदै पर्यटनमैत्री नीति निर्माणमा जोड दिए । पर्यटनलक्षित पूर्वाधार विकाससँगै सहज कनेक्टिभिटी र पर्यटनमैत्री व्यवहार आवश्यक हुने उनको भनाइ छ ।

पत्रकार प्रणय शाहले पछिल्ला समयमा विभिन्न पूर्वाधार विकासका नाममा पोखराको प्राकृतिक सौन्दर्य प्रभावित बनिरहेको भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो । अर्का सञ्चाकर्मी सुरेश बिडारीले पोखराका पर्यटकीय सौन्दर्य फेवाताललार्ई बचाउन आग्रह गर्दै हिमालको संरक्षणका लागि पनि चासो दिनु आवश्यक हुने धारणा राखे ।

आन्तरिक पर्यटन प्रवर्द्धनको मुख्य उद्देश्यका साथ २५ वर्षअघि सुरु गरिएको अभियानको निरन्तरतास्वरुप पूर्वी नेपालका वीरगन्ज, विराटनगर, इलाम र हेटौँडा यसपटकको अभियानमा समेटिएको सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले बताए ।

माओवादी द्वन्द्व, भूकम्प, नाकाबन्दी, कोभिड हुँदै बैंकको ब्याज र पश्चिम एसिया तनावका कारण नेपाली पर्यटन प्रभावित बनिरहेको उनले बताए । विगतमा सञ्चालन भएर पनि रोकिन पुगेको पोखरा–सिमरा हवाई उडान सेवा पुनः सञ्चालन गर्नुपर्ने उनले आवश्यकता औँल्याए ।

पोखराका होटलमा रु छ खर्ब हाराहारी लगानी रहेको जानकारी दिँदै उनले पोखरा आउने पर्यटकमध्ये ४० प्रतिशत आन्तरिक पर्यटक रहने गरेको बताउनुभयो । यही चैत २९ देखि वैशाख १ गतेसम्म फेवातालको किनार लेकसाइडमा आयोजना हुने नयाँ वर्ष महोत्सवमा सहभागिताका लागि पूर्वेली नागरिकलाई निम्तो दिनु पनि आफूहरूको कार्यक्रमको उद्देश्य रहेको उहाँले बताउनुभयो । महोत्सवका अवसरमा पाहुनालाई होटलमा २५ प्रतिशतसम्म छुट प्रदान गरिने उनले बताए ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले पोखरालाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन बोर्डले व्यवसायीसँग सहकार्य गर्दै अघि बढिरहेको बताउनुभयो । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले पोखरा र वरपरका उत्कृष्ट पदयात्रा गन्तव्यका बारेमा चर्चा गगरे ।

Leave A Reply

Your email address will not be published.