काठमाडौं :
नेपाली फिल्मका उदाउँदा अभिनेता हुन् गौरव बिष्ट। रंगमञ्चमा दरिलो नाम बनाएका उनले फिल्म क्षेत्रमा पनि राम्रो फड्को मारिरहेका छन्। दुई वर्षअघि फिल्म ‘परस्त्री’बाट अभिनेताका रूपमा डेब्यु गरेका गौरवको अर्को कोसेली ‘एक मुठी बादल’ प्रदर्शनको तयारीमा छ। यस फिल्ममा उनी आँचल शर्मा लगायतका कलाकारसँग देखिँदैछन्।
हालै सार्वजनिक गरिएको ‘एक मुठी बादल’को क्यारेक्टर पोस्टरमा पनि उनको झलक देख्न सकिन्छ। सार्वजनिक दुई तस्बिरमा उनको वास्तविक जीवनको लुक र फिल्ममा देखिएको चरित्रबीच स्पष्ट भिन्नता देखिन्छ। रोचक कुरा के छ भने, यस भूमिकाका लागि उनले करिब ९ केजी तौल घटाएका छन्।
क्यारेक्टरमा डुब्नका लागि उनले शरीरको तौल घटाउन निकै मेहनत गरेका छन्, जुन कुरा ‘एक मुठी बादल’मा दर्शकले देख्न पाउनेछन्। ९ केजी तौल घटाउँदै उनले आफूलाई पूर्ण रूपमा पात्रमा रूपान्तरण गरेका छन्। अब उनको कामको प्रशंसा कत्तिको हुन्छ भन्ने कुरा भने फिल्म जेठ १ गतेबाट प्रदर्शनमा आएपछि थाहा हुनेछ। त्यतिञ्जेलसम्म पर्खौं है त।