सुचना, समाचार र मनोरन्जन

‘परालको आगो’मा सपुतको फरक रूप, भैँसीसँगको दृश्य चुनौतीपूर्ण

काठमाडौं :

फिल्म ‘परदेशी २’बाट अभिनय यात्रा सुरु गरेका प्रकाश सपुत नयाँ फिल्म ‘परालको आगो’मार्फत दर्शकमाझ आउँदैछन्। सपुत अभिनित पहिलो फिल्म ‘परदेशी २’ व्यावसायिक रूपमा सफल भएको थियो। त्यसपछि आएको ‘पूर्णबहादुरको सारङ्गी’ले नेपाली बक्स अफिसमा उच्च व्यापार गर्दै करिब ४८ करोड रुपैयाँभन्दा बढी कमाइ गरेको निर्माण पक्षको दाबी छ।

यसपछि उनले आफ्नै निर्देशनमा ‘वसन्त’ निर्माण तथा अभिनय गरे पनि फिल्मले अपेक्षित सफलता पाउन सकेन। ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ले भने उनलाई पुनः चर्चामा ल्याएका थिए।

अब उनी ‘परालको आगो’मा ‘चामे’ पात्रका रूपमा देखिँदैछन्। सपुतका अनुसार यो भूमिका उनका अघिल्ला कामभन्दा फरक छ। विशेषगरी रिस देखाउने दृश्यमा अभिनय गर्न उनलाई चुनौतीपूर्ण लागेको उनले बताएका छन्।

“मेरो पात्रले कहिले श्रीमतीलाई माया गर्छ, कहिले भैँसीमाथि रिस पोख्छ। भैँसी कुट्ने दृश्यमा म निकै डराएको थिएँ,” उनले भने, “दृश्य पनि राम्रो आओस् र जनावरलाई पनि केही नहोस् भन्ने चिन्ता थियो।”

सपुतले उक्त दृश्यमा सहकलाकार सुहाना थापाले सहयोग गरेको बताए। फिल्ममा थापा ‘गौथली’ पात्रमा देखिँदैछिन्। लक्ष्मण सुनारको निर्देशन तथा सुशील पोखरेलको लगानीमा निर्माण भएको ‘परालको आगो’ गुरुप्रसाद मैनालीको कथा ‘परालको आगो’मा आधारित छ।

सुशील देवकोटाको लेखन रहेको फिल्ममा सुहाना थापा, प्रकाश सपुतसँगै सौगात मल्ल, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी र ज्याक श्रेष्ठलगायत कलाकारको अभिनय रहेको छ। निर्माण पक्ष फिल्मप्रति उत्साहित देखिएको छ भने निर्माता पोखरेलले फिल्मको प्रस्तुतिप्रति विश्वास व्यक्त गरेका छन्।

Leave A Reply

Your email address will not be published.