काठमाडौं :
एक मुठ्ठी बादलको परिवारको सबैभन्दा कान्छो सदस्य हुन् अविरल प्रताप अधिकारी । चलचित्रमा मात्र होइन सुटिङ युनिटमा पनि अविरल सबैभन्दा कान्छो सदस्य नै थिए । तर एक मुठ्ठी बादलमा सबैभन्दा पहिला अडिसन दिनेमा चाहिँ अविरल पहिलो थिए ।
विश्वका विभिन्न ल्याब हुँदै सुटिङमा निस्किएको चलचित्रले पटकथालाई अहिलेको स्वरुपमा ढाल्न नै ६–७ वर्ष खर्चिएको थियो। यही क्रममा निर्माण टिमले भाइको चरित्रको लागि अविरलको अडिसन लिएको थियो। ‘त्यतिबेला म जम्मा १७ वर्षको थिएँ । न अभिनयको ज्ञान थियो न पूर्व अनुभव । दुई पेजको सिन आफ्नो विवेकले अभिनय गरेर पठाएको थिएँ । निर्देशक सहारा दिदीले पछि खबर गछौँ भन्नु भएको थियो । त्यसको ५ वर्षपछि बल्ल खबर आयो । फेरि एक चोटि अडिसन दिएपछि बल्ल मैले यो चलचित्रमा काम गर्ने अवसर पाएँ,’ अविरलले सुनाए।
तर अडिसनबाट छानिएको दिनलाई उनले जीवनकै अविस्मरणीय क्षणको रुपमा लिएका छन् । किनकि चलचित्रमा अभिनय गर्ने उनको सपना मात्र यो चलचित्रले पूरा गरेको थिएन, जीवनको पहिलो प्लेन पनि चढाएको थियो । अविरल भन्छन्, ‘यो चलचित्रको सुटिङमा पोखरा जाँदा मैले पहिलो पटक प्लेन चढेको थिएँ । एडभेन्चर लागेको थियो । त्योबाहेक यो चलचित्रको सेटको अनुभव पनि स्मरणीय रह्यो । सुटिङ सकिएको दिन त म भावुक भएर रोएको पनि थिएँ ।’
त्यसो त अविरलले बिरासतमै कलाकारिताका गुण लिएर आएका हुन् । चर्चित कवि तथा गीतकार क्षेत्रप्रताप अधिकारी उनका हजुरबा हुन् भने कार्यक्रम निर्देशक एवं कमेन्टेटर अमनप्रताप अधिकारी उनका बुबा । परिवारको यही बिरासत पछ्याउँदै उनले नाटक हुँदै चलचित्रमा पाइला चालेका हुन् । एक मुठ्ठी बादलपछि उनले पारी बुटोलमा पनि महत्वपूर्ण भूमिकामा अभिनय गरेका छन् ।
चलचित्रमा घरकोे एक्लो छोरो र दिदीहरुको पुलपुलिएको भाइको रुपमा अभिनय गरेका अविरल वास्तविक जीवनमा उति पुलपुलिएका छोरा वा भाइ होइनन्। घरमा उनी दिदीका भाइ हुन् तर चलचित्रमा दिदी बन्ने उषा रजक र आँचल शर्माभन्दा उनको दिदीसँगको सम्बन्ध फरक छ।
‘मैले पर्दा बाहिर बोल्ने शैली फरक छ तर चलचित्रमा मैले बेग्लै हिसाबले बोलेको छु। घरमा दिदीसँग हुर्किएकाले चलचित्र भित्रको दिदी भाइको डायनामिक्स बुझ्न सजिलो भयो । तर त्यो भाइ अर्कै हो भने चलचित्रको भाइ अर्कै हो,’ अविरलले भने ।
‘मैले पर्दा बाहिर बोल्ने शैली फरक छ तर चलचित्रमा मैले बेग्लै हिसाबले बोलेको छु। घरमा दिदीसँग हुर्किएकाले चलचित्र भित्रको दिदी भाइको डायनामिक्स बुझ्न सजिलो भयो । तर त्यो भाइ अर्कै हो भने चलचित्रको भाइ अर्कै हो,’ अविरलले भने ।
तर आफ्नो चरित्रलाई धेरै दिदीभाइले रिलेट गर्ने अविरल बताउँछन्। अविरलका अनुसार आफ्नो मात्र होइन चलचित्र भित्रका हरेक सदस्यले हाम्रो परिवारका भिन्न भिन्न सदस्यको आत्मा समातेका छन् । जुन चरित्र हेरे पनि दर्शकलाई आफूले देखेको महसुस हुने अविरलको बुझाइ छ। यही अनुभवका लागि पनि एक मुठ्ठी बादल हेर्नु पर्ने उनको जिकिर छ।
‘यसको पटकथा नै नेपाल भरिका सम्पूर्ण परिवारमाथि रिसर्च गरेर लेखे जस्तो छ। त्यसैले यसका हरेक चरित्र वास्तविक लाग्छन्। यसमा भाइको चरित्र अझ स्पेसल छ,’ अविरल हाँस्दै सुनाउँछन्। सहारा शर्माको लेखन तथा निर्देशनमा बनेको एक मुठ्ठी बादल जेठ १ देखि प्रदर्शनमा आउँदैछ । चलचित्रमा निशा शर्मा, शेखर चापागाँई, आँचल शर्मा, उषा रजक, मनिष निरौला, गौरव बिष्ट, सहयोग राज अधिकारी, भिमा मैनाली, अस्मिता गौतम आदिको अभिनय रहेको छ।