काठमाडौं :
समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरीद्वारा दिक्पाल छन्दमा रचित गजल ‘सम्झेर प्यार’ सार्वजनिक गरिएको छ।
उक्त गजलमा गायिका तथा संगीतकार बबिना भट्टराईको स्वर तथा संगीत रहेको छ भने उनलाई पुरुष स्वरमा राज सिग्देलले साथ दिएका छन्। ‘नेपाली गजलबहार’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गजलको एरेन्ज किरण कँडेलले गरेका हुन्। म्युजिक नेपालको स्टुडियोमा नकुल कार्कीले रेकर्ड गरेको गजलको मिक्सिङ तथा मास्टरिङ प्रकाश खरेलले गरेका छन्।
सरोज बुढाथोकीको श्रृङ्गारमा तयार भिडियोमा बबिना भट्टराई र राज सिग्देल फिचर्ड छन्। गजलको भिडियो निर्देशन केशव राज भट्टले गरेका हुन् भने सम्पादन तथा कलर मीन रावलको रहेको छ।
छन्दमणि तथा कविवर गोविन्दराज विनोदीप्रति समर्पित उक्त गजल दिक्पाल छन्दको उत्कृष्ट सिर्जना बनेको गजलकार उत्तम विचार बताउँछन्। उनले इमेज एफएम ९७।९ मा हरिराम पौडेलद्वारा सञ्चालित कार्यक्रम ‘मेचीदेखि महाकालीसम्म’मा गजलको समीक्षा गर्दै गिरीले छन्दको अनुशासनभित्र रहेर सशक्त र भावनात्मक गजल सिर्जना गरेको उल्लेख गरे।
गजलका शेरहरूमा प्रेम, स्मृति, प्रतीक्षा, समर्पण र एक्लोपनका सूक्ष्म भावहरू अभिव्यक्त भएका छन्। ‘सम्झेर प्यार तिम्रो साँचेर जिन्दगानी, लेखेर प्रेमगाथा आहा भयो कहानी।।।’ जस्ता पंक्तिहरूले प्रेमलाई जीवनको आधारका रूपमा प्रस्तुत गरेका छन्।
त्यस्तै, ‘आनन्द मिल्छ पक्कै आएर पास मेरो, बस्दा अनन्त एक्लै बित्ला यसै जवानी।।।’ भन्ने शेरले साथ र एक्लोपनबीचको द्वन्द्वलाई मार्मिक ढंगले चित्रण गरेको छ। गजलमा प्रेम केवल अनुभूति मात्र नभई जीवनको अर्थ दिने स्थायी शक्तिका रूपमा देखिएको छ।
‘देऊ जवाफ प्यारी के हो विचार तिम्रो, तिम्रै सधैं झझल्को कस्तो परेछ बानी।’ जस्ता पंक्तिले प्रेममा हुने प्रतीक्षा र अन्योललाई प्रस्तुत गर्छन् भने ‘बेला छँदै पिलाऊ प्याला मिठो मलाई, मेट्टिन्छ प्यास कैले खाली पिएर पानी।’ ले प्रेम र आत्मीयताको आवश्यकता दार्शनिक रूपमा व्याख्या गरेको छ।
गजलको अन्तिम शेर ‘बुन्दैछु प्रेममाला आऊ लिएर डोली, सुम्पेर जिन्दगी यो तिम्रै हुनेछु रानी।’ मा पूर्ण समर्पण, प्रतिबद्धता र वैवाहिक प्रतीकमार्फत प्रेमको परिपक्व रूप प्रस्तुत गरिएको छ। समग्रमा,‘सम्झेर प्यार’ गजलले दिक्पाल छन्दको लयात्मक अनुशासनभित्र रहँदै आधुनिक प्रेमका मनोवैज्ञानिक आयामहरूलाई प्रभावकारी रूपमा उजागर गरेको छ। आरजु गिरीको शब्द, बबिना भट्टराईको संगीत तथा स्वर र राज सिग्देलको साथले गजललाई भावनात्मक रूपमा सशक्त बनाएको छ।