रसुवा,
गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी राजमार्गअन्तर्गत स्याफ्रु रसुवागढी खण्डमा तीव्रगतिमा स्तरोन्नति भइरहेको छ ।
नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ बनाउँदै आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा समन्वय र सहकार्य बढाउने उद्देश्यले निर्माणाधीन गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी राजमार्गको स्तरोन्नति तीव्रताका साथ अघि बढेको हो ।
दुई देशबीचको व्यापार, पर्यटन तथा सीमावर्ती क्षेत्रको विकाससँग प्रत्यक्ष जोडिएको यो सडकलाई नेपाल(चीनबीचको मैत्रीपूर्ण जीवनरेखा मानिएको छ । नेपाल सरकारले चीनसँगको व्यापारिक गतिविधिलाई सरल, सुरक्षित र प्रभावकारी बनाउने लक्ष्यसहित सडक सुधार तथा स्तरोन्नतिको काम अघि बढाए पनि स्याफ्रुबेँसी मैलुङतर्फको सडकले निर्माण प्रक्रियामा अपेक्षित गति लिन भने सकेको छैन ।
निर्माणको जिम्मेवारी पाएका केही ठेकेदार कम्पनीले समयमा काम नगर्दा ठेक्का तोड्नुपर्ने अवस्था सिर्जना भएपछि पुनः ठेक्का प्रक्रिया अगाडि बढाउन समय खर्चिनुपरेकाले काममा ढिलाइ भएको सम्बन्धित निकायले जनाएको छ ।
धादिङको गल्छीबाट नुवाकोटको देवीघाट, त्रिशूली, ढुङ्गे हुँदै रसुवाको बेत्रावती, मैलुङ, स्याफ्रुबेँसी र रसुवागढी जोड्ने ८० दशमलव चार किलोमिटर सडकमध्ये स्याफ्रुको छोकलबाट मैलुङसम्म नेपाली सेनाले ‘ट्र्याक’ खोलेको आयोजना कार्यालयले जनाएको छ । हिमाली भौगोलिक कठिनाइका बाबजुद सडकलाई अन्तरराष्ट्रियस्तरको मार्ग बनाउने लक्ष्यका साथ काम अगाडि बढिरहेको गोसाइँकुण्ड गाउँपालिका(२ का वडाध्यक्ष कामीछिरिङ तामाङले उल्लेख गरे ।
पछिल्लो समय सडक स्तरोन्नतिअन्तर्गत ट्र्याक अपुग रहेका स्थानमा नयाँ कटिङ, पहिरो जोखिम क्षेत्रमा टेवा पर्खाल निर्माण, पानी निकासका लागि नाली व्यवस्थापन, कालोपत्रे तथा दुई दर्जनभन्दा बढी पक्की पुल निर्माण गर्ने योजना समावेश गरिएको छ ।
मैलुङ–स्याफ्रुबेँसी खण्डको १७ किमीमा २०७२ देखि २०७४ सालबीचको अन्तरालमा नेपाली सेनाले ट्र्याक खोलेको थियो भने अन्य स्थानमा पहिले खोलिएका ट्र्याकलाई सुधार गरी आधुनिक सडकको स्वरूप दिन थालिएको आयोजना कार्यालयले जनाएको छ ।
स्याफ्रुबेँसी, रसुवागढी क्षेत्रको करिब १६ किमी सडक भने चीन सरकारको सहयोगमा करिब १२ वर्षअघि चिनियाँ प्राविधिक टोलीले निर्माण गरेको थियो । उक्त सडकलाई अहिले पुनः चीन सरकारकै सहयोगमा स्तरोन्नति गर्ने काम अघि बढिरहेको छ ।
चीन सरकारको सहयोगमा खोलिएको ट्र्याकले नेपाल-चीन व्यापारलाई नयाँ गति दिएको गोसाइँकुण्ड-२ का वडाध्यक्ष तामाङले बताए । सडक निर्माणसँगै आयात(निर्यात सहज बनेको छ भने हिमाली क्षेत्रका बासिन्दाको दैनिक जीवनमा उल्लेखनीय परिवर्तन देखिएको छ ।
सडक निर्माणका क्रममा स्याफ्रुबेँसीबाट उत्तरतर्फ विभिन्न खोलामा सात वटा पक्की पुल निर्माण गरिएकाले वर्षा र हिउँदमा धुले र हिलेपहिरो आउने समस्या समाधान भएको बताउँदै उनले सोही कारणले मालवाहक ट्रक तथा कन्टेनर निर्वाध रूपमा सञ्चालन गर्न सम्भव भएको धारणा राखे ।
यसअघि डोकोमा बोकेर सामान ढुवानी हुने रसुवागढी नाका अहिले आधुनिक मोटरमार्गमा परिणत भएको छ । भारी मात्रामा मालसामान आयात हुन थालेपछि भरिया पेसा घटे पनि समग्र गाउँ आर्थिक गतिविधिले चलायमान बनेका छन् ।
रसुवागढी नाकाबाट हुने व्यापारले राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याइरहेको जानकारहरू बताउँछन् । भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईका अनुसार वार्षिक रु ३० अर्बभन्दा बढी राजस्व सङ्कलन हुँदै आएको छ ।