श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले काठमाण्डौको थापाथलीमा रहेको सुकुम्वासी बस्तीको स्थलगत निरीक्षण गर्नुभएको छ ।
साम्पाङ नेतृत्वको टोली आज बस्तीमा पुगेर त्यहाँको अहिलेको अवस्था, बस्ती व्यवस्थापन, पुनर्वास र क्षतिपूर्तिका विषयमा जानकारी लिएको हो । सरकारले केही समयअघि थापाथली क्षेत्रमा रहेका अनधिकृत संरचनाहरू हटाएपछि सिर्जित समस्या र विस्थापितहरूको अवस्था बुझ्न साम्पाङ त्यहाँ पुग्नुभएको हो ।
निरीक्षणका क्रममा उहाँले सरकारी कारबाहीबाट प्रभावित भएकाहरूसँग संवाद गर्दै उनीहरूको पुनर्वास र उचित व्यवस्थापनको आवश्यकताका बारेमा चासो व्यक्त गर्नुभयो । अनधिकृत संरचना भत्काइएपछि त्यहाँका बासिन्दाले आवास र क्षतिपूर्तिको माग गर्दै आएका छन् ।
निरीक्षणका क्रममा अध्यक्ष साम्पाङले विकास र व्यवस्थापनका नाममा नागरिकलाई उठिबास लगाउँदा उनीहरूको उचित विकल्प र मानवीय पक्षलाई पनि ध्यान दिनुपर्ने बताउनुभयो ।