Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- विश्व फिजियोथेरापी दिवसमा मेट्रोसिटी अस्पतालको सन्देश : ‘औषधि मात्र होइन, सक्रिय जीवन पनि उपचार हो’
- सुशील र न्यान्सीको फिल्म ‘अक्षरा’ ले पायो युनिभर्सल सर्टिफिकेट,सबै उमेरका दर्शकले हेर्न पाउने
- ‘बेहुली’को ट्रेलरले रच्दै इतिहास: २४ घण्टामै १० लाख भ्युज पार
- असोज २ गते रिलिज हुने ‘कार्की साइँला’को ट्रेलरमा भरियाको सङ्घर्ष र पुरुषको पीडा
- प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब
- फर्स्टलुक पोस्टरसहित बिजुको ‘अन्तिम दाउ’ घोषणा
- अस्ट्रेलियामा शोभित बस्नेत र सन्तोष तिवारीको सक्रियतामा नेपालका बाढीपीडितका लागि ३३ लाखभन्दा बढी राहत संकलन
- पोखरा–दुबई उडानलाई दिगो बनाउने प्रतिबद्धता
- पृथ्वी राजमार्ग अवरुद्ध: पर्यटक बस सञ्चालनमा समस्या
- भोटेकोशीमा बाढीः वीरबहादुरको एक कलले बचायो करिब ३० परिवारलाई
तालचोक-बेगनास सडकः तेस्रोपटक म्याद थप
गण्डकी,
निर्माणमा ढिलाइ भइरहेको तालचोक–बेगनास सडकको तेस्रोपटक म्याद थप भएको छ । पोखरा महानगरपालिका–२७ तालचोकदेखि ३१ बेगनास जोड्ने चार लेनको उक्त सडक दुई वर्षभित्रमा सक्नेगरी विसं २०७९ असारमा सम्झौता भएको थियो ।
आगामी असारभित्र काम सक्नेगरी ठेक्काको म्याद थप भएको महानगरपालिकाको सडक शाखाका इन्जिनियर नवीन गौतमले जानकारी दिनुभयो । “तेस्रोपटक म्याद थप भएको छ, निर्माण कम्पनीले आगामी असारभित्रमा काम पूरा गर्ने प्रतिबद्धता जनाएको छ”, उहाँले भन्नुभयो, “अहिलेसम्म सडकको भौतिक प्रगति करिब ७५ प्रतिशत र वित्तीय प्रगति ७० प्रतिशत पुगेको छ ।”
सहरी विकास मन्त्रालय, महानगरपालिका, विकास साझेदार विश्व बैंक, परामर्शदातालगायत सरोकार भएका निकायसँगको छलफलमा निर्माण कम्पनीले तोकिएको समयमा काम सक्ने प्रतिबद्धता जनाएको इन्जिनियर गौतमले बताउनुभयो । उहाँका अनुसार यसअघि थपिएको म्याद गत चैत १७ मा सकिएपछि तेस्रोपटक म्याद थप भएको हो ।
‘स्वच्छन्द–सपना–वल्र्डवाइड जेबी’ले निर्माण ठेक्का सम्झौता गरेको एक वर्षपछि मात्र काम सुरु गरेको थियो । त्यसयता पनि निर्माण कम्पनीकै ढिलासुस्तीका कारण सडक समयमा बन्न नसकेको हो । तीन दशमलव २८ किमीको उक्त सडकमा जग्गा विवादका कारण पनि निर्माण प्रभावित हुन पुगेको इन्जिनियर गौतमले बताउनुभयो ।
महानगरपालिकाको पहलमा जग्गाको विवाद मिलिसकेकाले अब काम नरोकिने उहाँको भनाइ छ । यसअघि निर्माण कम्पनीले प्रतिबद्धताअनुसार सडक निर्माणलाई गति दिन नसकेपछि स्थानीयस्तरबाट आलोचना हुँदै आएको थियो । विश्व बैंकको आर्थिक सहयोगमा उक्त सडक चार लेनमा विस्तार तथा स्तरोन्नति हुन लागेको हो ।
रु एक अर्ब ४९ करोडको लागत योजना रहे पनि निर्माण कम्पनीसँग भ्याटबाहेक रु ७५ करोड ४८ लाखमा ठेक्का सम्झौता भएको थियो । फुट ट्रयाक, साइकल लेन र पार्किङसहितको नमूना सडक बन्ने जनाइएको छ । सडक छेउछाउमा बगैँचा, सडकबत्तीलगायत आकर्षक पूर्वाधार निर्माण हुनेछन् भने सडकमा तीनवटा पुल पनि बन्नेछन् ।
महानगरको गौरवको आयोजनाका रूपमा तालचोक–बेगनास सडक स्तरोन्नतिलाई लिइएको नगरप्रमुख धनराज आचार्यले बताउनुभयो । चार लेनको सडक बनेपछि सात तालको बाटिका भनेर चिनिने सिङ्गो लेखनाथ क्षेत्रको विकासमा टेवा पुग्ने उहाँको भनाइ छ । पृथ्वी राजमार्गसँग जोडिएको उक्त सडक बेगनास, रूपा गाउँपालिका हुँदै लमजुङ जोडिन्छ । तालचोक–बेगनास सडक पृथ्वी राजमार्गसँग जोडिएकाले आर्थिक र पर्यटन गतिविधि थप बढ्ने अपेक्षा छ ।