
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- श्रीलंकाली ब्याटर सदिरा समराविक्रमा पोखरा एभेन्जर्समा अनुबन्ध
- स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड
- मौसमको चेतावनीपछि किसानलाई धान भित्र्याउन भ्याइनभ्याई
- ‘वर्ल्ड फिल्म फेस्टिभल इन क्यान्स’मा ‘गौैँथली’लाई ‘वेस्ट फरेन सिनेमा’को अवार्ड
- ‘पाँच पाण्डव’को गीत ‘दाजु भाइजस्ता हुँदैनन् अरु’ सार्वजनिक
- चाडपर्वका कारण रगतको चरम अभाव: रक्तदान गर्न रेडक्रसको आह्वान
- चक्रवात ‘अर्नब’ भारतको तटीय क्षेत्रमा ठोक्कियो
- एनपीएलमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै: हलनचोकमा प्रत्यक्ष प्रसारण
- गण्डकीमा प्रदेश तथा स्थानीय सेवाका सातौं तहका विभिन्न पदमा कर्मचारी माग
- ‘द फाइनल म्याच’पछि फेरि ‘कबड्डी’ बनाउन किन मन लाग्यो रामबाबु गुरुङलाई ?
सडक किनारका जोखिमयुक्त रुख हटाउँदै चितवन वन कार्यालय
चितवन,
डिभिजन वन कार्यालय चितवनले सडक किनारका जोखिमयुक्त रुख हटाउन सुरु गरेको छ । आँपटारीदेखि देवघाटसम्मका जोखिमका रुपमा पहिचान गरिएका रुख कटान थालिएको हो ।
देवघाट क्षेत्र विकास समितिले १० वर्षअघिदेखि निरन्तर रुपमा रुख कटानका लागि पहल गर्दै आएकामा यस वर्ष आँपटारीदेखि देवघाटसम्मका २५ वटा रुख कटान सुरु गरिएको छ । सो सडकमा रहेका ६२ वटा रुख जोखिममा रहेको भन्दै समितिले कटानका लागि अनुरोध गरेको थियो ।
डिभिजन वन कार्यालय चितवनका प्रमुख विष्णुप्रसाद आचार्यका अनुसार सो सडक खण्डका १० वटा रुख सुकेकाले यसअघि नै कटान गरिसकिएको थियो । नियमित प्रक्रियाअन्तर्गत ती रुख कटान गरिएका हुन् । अन्य रुखको हकमा वन नियमावली २०७९ को तेस्रो संशोधनको नियम ३६ को उपनियम ६ अनुसार जङ्गलभित्रको बाटो, विद्युत्, टेलिफोन टावर, हवाई सुरक्षालाई जोखिम परेको अवस्थामा हाँगाबिँगा वा रुखै हटाउनसक्ने व्यवस्थाअनुरुप कटान सुरु गरिएको हो ।

थप रुख पनि अध्ययन गरी कटान गरिने उहाँले जानकारी दिनुभयो । वैशाख महिनाभित्रमा देवघाट क्षेत्र विकास समितिले रुख कटान गरी वन कार्यालयलाई बुझाउने र जेठ महिनामा ती काठ बोलपत्र आह्वान गरी बिक्री गरिनेछ ।
धार्मिक महत्व बोकेको देवघाट आवतजावत गर्ने सडकमा रुख परेपछि आवतजावतमा कठिनाइ भएको थियो । कतिपय रुख जुनसुकैबेला ढल्नसक्ने अवस्थामा रहेका थिए । ती रुख बरण्डाभार वन क्षेत्र र सतनचुली एवं जलदेवी सामुदायिक वनमा पर्दछन् ।
पूर्वपश्चिम राजमार्गको टिकौली क्षेत्रमा, भरतपुरदेखि कालिका नगरपालिका जाने भोजाडदेखि हरिपुर पोष्टसम्म र लामाटोलदेखि पदमपुरसम्मका सडक किनारका जोखिमयुक्त, रुख पहिचानको काम सुरु गरिएको छ । सो क्षेत्र वरण्डाभार र नवजागृति सामुदायिक वनमा पर्दछ ।
कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर अगाडिको खगेरी नहरमा रहेको रुख कटानका लागि अनुगमन सुरु गरिएको छ । भरतपुर महानगरपालिकाको आग्रहमा वन कार्यालयले वैशाखभित्रमा जोखिम रहे नरहेको अध्ययन गरी जोखिमयुक्त भएमा कटानका लागि प्रक्रिया अगाडि बढाउने आचार्यले बताउनुभयो । उहाँले सडक छेउ र अन्य जोखिम क्षेत्रमा रहेका रुखलाई प्रचलित कानुनबमोजिम हटाइ जोखिम न्यूनीकरणमा वन कार्यालय लागेको बताउनुभयो ।