सुचना, समाचार र मनोरन्जन

‘लालीबजार’ हेरेपछि गायक खेम सेन्चुरी भावुक, अभिनेत्री स्वस्तिमाको कामलाई भने ‘उत्कृष्ट’

काठमाडौँ :

दोस्रो सातामा प्रदर्शनरत नेपाली कथानक चलचित्र ‘लालीबजार’ लाई विशेष प्रदर्शनी मा उपस्थित कलाकर्मीहरूले मुक्तकण्ठले प्रशंसा गरेका छन् । सोमबार बेलुकी काठमाडौँस्थित जय नेपाल हलमा आयोजना गरिएको विशेष प्रदर्शनीमा चलचित्र हेरेपछि उनीहरूले यसको सामाजिक विषयवस्तु, निर्देशकीय पक्ष र कलाकारहरूको जीवन्त अभिनयको तारिफ गरेका हुन् ।

चलचित्र हेरेपछि वरिष्ठ अभिनेता तथा निर्देशक नीर शाहले ‘लालीबजार’ लाई नेपाली चलचित्र क्षेत्रले वर्षौंसम्म सम्झिने कोसेली उपहार पाएको टिप्पणी गरे । नेपालकै मौलिक कथामा आधारित उत्कृष्ट चलचित्र बनेको उल्लेख गर्दै उनले प्रमुख अभिनेत्री स्वस्तिमा खड्काले निर्वाह गरेको ‘मधुवाला’ पात्रको अभिनय विगतका कामहरू भन्दा ज्यादै माथि रहेको र अब उनको प्रतिस्पर्धा स्वयम् आफैँसँग हुने बताए । उनले यसै चलचित्रबाट डेब्यु गरेका नव(अभिनेता विशाल देवकोटा र अभिनेत्री प्रशंसा सुवेदीको कामको पनि प्रशंसा गरे ।

त्यस्तै, अभिनेत्री प्रियंका कार्कीले चलचित्रको सलल बगेको पटकथा र सशक्त अभिनयले दर्शकलाई हलमा बाँधेर राख्ने र यसको क्लाइमेक्स झनै बलियो रहेको प्रतिक्रिया दिइन्। अभिनेत्री वर्षा राउतले निर्माण पक्ष षट्कोण आर्ट्सले दर्शक र समीक्षक दुवैको रोजाइ बुझेर सामाजिक विषयवस्तुलाई निकै उत्कृष्ट ढंगले प्रस्तुत गरेको बताइन् । अभिनेता आयुष्मान डिएस जोशीले स्वस्तिमाको अभिनय निकै सशक्त रहेको बताए भने चलचित्रमा समावेश लोकप्रिय गीत ‘मायालाई के दिउँ म बैना’ का गायक तथा सङ्गीतकार खेम सेन्चुरीले एउटी आमाले सन्तान रक्षाका लागि गर्ने संघर्षले आफ्नो आँखा रसाएको प्रतिक्रिया दिए ।

कलाकर्मी र दर्शकबाट प्राप्त उत्साहजनक प्रतिक्रियाले सम्पूर्ण निर्माण टिम उत्साहित भएको अभिनेत्री स्वस्तिमा खड्काले बताइन् । हाल काठमाडौँका हलहरूमा दर्शकसँग भेटघाट गरिरहेको टिम मंगलबारदेखि झापाको विर्तामोडबाट पुनः मोफसल यात्रा सुरु गर्दैछ । यसअघि चलचित्र टोलीले नेपालगंज, सुर्खेत, बुटवल, चितवन र पोखराका दर्शकहरूसँग भेटघाट गरिसकेको छ ।

यम थापाको कथा तथा निर्देशनमा तयार भएको यस चलचित्रको पटकथा र संवाद निर्देशक थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा लेखेका हुन् । प्रदीप भट्टराई कार्यकारी निर्माता रहेको चलचित्रमा म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता रहेका छन् । स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ लगायतको मुख्य अभिनय रहेको ‘लालीबजार’ को ट्रेलर हाल युट्युबको मुभी चार्टतर्फ नम्बर १ मा ट्रेन्डिङमा रहेकाले आगामी दिनमा यसले अझै राम्रो व्यापार गर्ने सङ्केत देखाएको छ ।

Leave A Reply

Your email address will not be published.