पोखरा,
सामाजिक सेवा र सामुदायिक विकासमा पाँच दशकदेखि निरन्तर योगदान पुर्याउँदै आएको लायन्स क्लब अफ पोखराले आफ्नो स्थापनाको ५०औँ वर्ष स्वर्ण महोत्सवका रूपमा मनाउने भएको छ। क्लबले आगामी मङ्सिर ५ गते पोखरा इभेन्ट सेन्टरमा विशेष समारोह आयोजना गर्न लागेको हो।
महोत्सवको तयारीबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा लायन्स डिस्ट्रिक्ट गभर्नर प्रजापति बास्तोलाले संस्थापकहरूको सपना र अग्रजहरूको मार्गदर्शनअनुसार क्लब ५० वर्षसम्म आइपुगेको बताउनुभयो। पोखराकै अग्रणी क्लबका रूपमा रहेको संस्थाले व्यक्तिगत सहयोग जुटाएर समाजसेवामा निरन्तर योगदान पुर्याउँदै आएको उहाँको भनाइ थियो।

सन् १९७६ अर्थात् वि.सं. २०३३ सालमा स्थापित लायन्स क्लब अफ पोखरा नेपालकै छैटौँ र तत्कालीन पश्चिमाञ्चल विकास क्षेत्रकै पहिलो लायन्स क्लब हो। क्लबले शिक्षा, स्वास्थ्य, रक्तदान, वातावरण संरक्षण, छात्रवृत्ति तथा विपद् व्यवस्थापनलगायतका क्षेत्रमा योगदान पुर्याउँदै आएको छ।
क्लबका मुख्य संयोजक सुशील कुमार गोशलीका अनुसार स्वर्ण महोत्सवमा सार्वजनिक क्षेत्रका विशिष्ट व्यक्तित्व, लायन्स नेतृत्व, संस्थापक सदस्य तथा विभिन्न पेसा-व्यवसायमा आबद्ध व्यक्तित्वहरूको सहभागिता रहनेछ। समारोहमा क्लबका संस्थापक, पूर्वअध्यक्ष तथा सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्याउने अग्रजहरूलाई सम्मान गरिनेछ।
त्यसैगरी, क्लबको पाँच दशक लामो सामाजिक सेवायात्रा, उपलब्धि र ऐतिहासिक गतिविधि समेटिएको विशेष स्वर्ण महोत्सव स्मारिका विमोचन गरिनेछ।
क्लबका अध्यक्ष डा. माधव तिवारीले स्वर्ण महोत्सव विगतको योगदान स्मरण गर्नुका साथै आगामी पुस्तालाई सामाजिक सेवाप्रति प्रेरित गर्ने महत्वपूर्ण अवसर भएको बताउनुभएको छ।