सुचना, समाचार र मनोरन्जन

हारको जिम्मेवारी आफ्नै काँधमा लिँदै दीपकराज गिरीले भने, ‘छाती खोलेरै हारियो भन्न सक्नुपर्छ, कमजोरीको आत्मसमीक्षा नगरे भविष्य कमजोर हुन्छ’

काठमाडौँ :

चर्चित अभिनेता तथा निर्माता दीपकराज गिरीले फिल्म ‘छ माया छपक्कै २’को व्यवसायिक असफलतालाई सहज रूपमा स्वीकार गर्दै गहिरो आत्मसमीक्षा गरेका छन्। हालै दसैँको अवसरमा रिलिज भएको आफ्नो फिल्मको व्यावसायिक नतिजालाई लिएर उनले सामाजिक सञ्जालमार्फत आफ्नो स्पष्ट धारणा राखेका हुन्।

हार स्वीकार्दै उनले जितेको बेला ढोल पिटेर नाच्ने र हारेको बेला गल्लीभित्र लुसुक्क छिरेर चुपचाप बस्ने प्रवृत्ति ठिक नहुने बताएका छन्। उनले लेखेका छन्,‘जीत हुँदा ढोल पिटेर नाचिने, हार्दा चाहिँ गल्लीभित्र लुसुक्क छिरेर चुपचाप बस्नुको अर्थ पनि छैन,छाती खोलेरै हारियो भन्न सक्नुपर्छ? हारको पनि विश्लेषण गर्नुपर्छ र अगाडि पनि बढ्नुपर्छ।’

फिल्म फ्लप हुँदा दोष कसलाई दिने भन्ने विषयमा उनले व्यङ्ग्यात्मक शैलीमा प्राविधिकदेखि लेखक–निर्देशकसम्मका पाटाहरू केलाएका छन्। निर्माताले निर्देशकलाई, निर्देशकले लेखकलाई र लेखकले क्यामराम्यानलाई दोष थुपार्ने प्रवृत्तिभन्दा माथि उठेर उनले फिल्मको असफलताको सम्पूर्ण जिम्मेवारी आफूले लिने बताएका छन्।

Pach Pandav

यसैगरी, यसपटक दसैँमा रिलिज भएका अन्य चलचित्रहरूको बक्स अफिस कलेक्सनको फेहरिस्त कोट्याउँदै उनले मानवीय स्वभाववश आफ्नो घाउ केही हल्का भएको उल्लेख गरेका छन्। तर, कुरा जति घुमाए पनि आफू असफल भएको यथार्थ नमेटिने उनको ठहर छ।

‘यो पालि चलेका ४ वटा फिल्मको अघिल्लो श्रृंखलाको आम्दानी क्रमश २१ करोड, १९ करोड,१२ करोड र ९ करोड रहेछ,’उनले अघिल्लो पटक फिल्मले बक्स अफिसको व्यापार उल्लेख गर्दै लेखेका छन्,‘जसको यो पाली दशै कलेक्सन क्रमशै १० करोड, २ करोड चानचून, ६ करोड चानचून र ३ करोड चानचून भएको रहेछ। यसरी डाटा हेर्दा चाहि आफू फ्लप भएको घाउ अलिकता कम भाको महसूस पनि हुने रहेछ। यो पनि हल्का रमाइलो नै भो। मानविय स्वभाव न हो तर जति कुरा घुमाए पनि आफू असफल भएको कुरा त मेटिनेवाला छैन।’

उद्योगका अन्य साथीहरूलाई पनि गम्भीर आत्मसमीक्षा गर्न आग्रह गर्दै उनले भनेका छन्,‘मैले व्यक्तिगत रूपमा भएका कमजोरीहरू महसुस गरिसके, तर उद्योगका अन्य साथीभाइले पनि केही आत्मसमीक्षा नगरे नेपाली फिल्मको भविष्य कमजोर हुँदै जाने निश्चित नै छ।’

अन्त्यमा,आफ्नो फिल्म हेरेर साथ दिने करिब १ लाख दर्शकहरूप्रति आभार व्यक्त गर्दै उनले सफल भएका अन्य फिल्मकर्मीहरूलाई बधाई दिएका छन्। साथै, दर्शकले दिएका सुझावहरूलाई आत्मसात गर्दै आगामी वर्ष अझ परिमार्जित रूपमा हलहरूमा फर्किने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

Leave A Reply

Your email address will not be published.