काठमाडौँ :
बलिउड अभिनेता शाहरुख खान को प्रदर्शनमा आउन लागेको फिल्म ‘किङ’को प्रदर्शन अगावै ६६५ करोडको आम्दानी गरिसकेको छ। ४ सय करोडमा बनेको यो फिल्मले प्रदर्शन अगावै उक्त रकममा बिक्री गरेर नाफा कमाएको हो।

भारतिय सञ्चारमाध्यम पिंकभिल्लाका अनुसार सुरुमा २०० करोड बजेट तय गरिए पनि निर्माणका क्रममा लागत बढेर करिब ४०० करोड भारतीय रुपैयाँ पुगेको हो। यस बजेटमा निर्देशक सिद्धार्थ आनन्दको पारिश्रमिक जोडिए पनि शाहरुख खानको पारिश्रमिक भने समावेश छैन। शाहरुखको पारिश्रमिक र प्रचारप्रसारको खर्च समेत जोड्दा फिल्मको कुल लागत ५०० करोड भारु नाघ्ने अनुमान छ।
यद्यपि उच्च निर्माण लागतका बाबजुद चलचित्रले प्रदर्शनअघि नै विभिन्न राइट्स बिक्रीबाट कुल ६६५ करोड भारु आम्दानी सुरक्षित गरिसकेको छ।फिल्मको भारतभित्रको वितरण अधिकार पेन मरुधरले २५० करोड रुपैयाँमा र विदेश प्रदर्शन अधिकार १७५ करोड भारुमा बिक्री भएको छ। हल प्रदर्शन अधिकारबाट मात्रै ४२५ करोड भारु उठिसकेको फिल्मको डिजिटल अधिकार नेटफ्लिक्सले १५० करोड रुपैयाँमा खरिद गरेको छ।
बक्स अफिसको नतिजा अनुसार नेटफ्लिक्ससँगको यो रकम अझै बढ्न सक्ने आँकलन गरिएको छ। यसका साथै म्युजिक राइट्सबाट ६५ करोड र स्याटेलाइट राइट्सबाट २५ करोड रुपैयाँ आम्दानी भएको छ। फिलममा शाहरुख खानका साथै सुहाना खान, दीपिका पादुकोण, रानी मुखर्जी र अभिषेक बच्चनको अभिनय रहेको छ।