काठमाडौँ :
चल्तीका स्थापित तथा नयाँ कलाकारहरूको ठूलो जमघट रहने फिल्म ‘महाराजधिराज’को छायांकन औपचारिक रूपमा सुरु भएको छ। गत मंगलबार शुभमुहूर्त गरिएको यस फिल्मको सुटिङ सुनसरीको श्रीलंका टापुबाट थालिएको हो।
सुनसरीको श्रीलंका टापुमा एक हप्तासम्म प्रारम्भिक छायांकन गरिएपछि बाँकी दृश्यहरू काठमाडौँ, भक्तपुर र कीर्तिपुरका विभिन्न ऐतिहासिक तथा सुन्दर स्थानहरूमा खिचिनेछ। फिल्मको सम्पूर्ण छायांकन कार्यका लागि ७० दिनको समयतालिका (सेड्युल) निर्धारण गरिएको छ। परिच्छेद सेनको लेखन तथा निर्देशनमा तयार भइरहेको यो फिल्म एक ‘सोसल पिरियड ड्रामा’ अर्थात् सामाजिक ऐतिहासिक कथावस्तुमा आधारित रहेको निर्देशक सेनले जानकारी दिएका छन् ।
ठूलो लगानी र भव्य क्यानभासमा निर्माण भइरहेको यस फिल्ममा नेपाली रजतपतका ८० जना भन्दा बढी कलाकारहरूको अभिनय रहनेछ। फिल्मको मुख्य भूमिकामा आर्यन सिग्देल, रमेश उप्रेती, पुष्प खड्का, पूजा शर्मा, केकी अधिकारी, उषा रजक, गजित बिष्ट, जयकिशन बस्नेत, मोहन निरौला,दिनेश डिसी र सुशील सिटौला जस्ता चर्चित कलाकारहरू रहेका छन्।
यसैगरी फिल्ममा हिउवाला गौतम, प्रिया रिजाल, नीर शाह, विशाल पहाडी, आशा पौडेल, पुष्कर कार्की, कविता पुरी, सृष्टि खड्का, कुलदिप अधिकारी, कमल देवकोटा, कमल गाउले, शिशिर भण्डारी, शिबु पाण्डे, हेमन्त बुढाथोकी, प्रलिन्शा कोइराला, अन्जु रसाइली, सनम श्रेष्ठ, सुजेन थापा,आयुष्मा गिरी, रामहरि खड्का, सुवर्ण दुलाल,अनिता गिरी, पारस बस्ताकोटी, कुलबहादुर ओली, सपना घिसिङ र पूजा बुढालगायतका कलाकारहरूको पनि अभिनय रहनेछ।
छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण भइरहेको ‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज विष्ट हुन् भने फिल्मलाई नवराज थापाले खिचिरहेका छन् । रवि खड्का, शिवराज पौडेल र टोपेन्द्र विष्ट निर्माता रहेको यो फिल्मलाई आगामी बडादसैँको फूलपातीका दिन देशभरका सिनेमा हलहरूमा प्रदर्शन गर्ने तयारीका साथ निर्माण टिमले काम अगाडि बढाएको छ ।