सुचना, समाचार र मनोरन्जन

फिर्केखोला अतिक्रमण हटाउन पोखरा महानगरको अन्तिम चेतावनी

पोखरा,

पोखरा महानगरपालिका ले फिर्केखोलाको खोलाघरभित्र निर्माण भएका स्थायी तथा अस्थायी संरचना हटाउन सम्बन्धित व्यक्ति तथा संस्थालाई अन्तिम सूचना जारी गरेको छ।

महानगरपालिकाले जारी गरेको सार्वजनिक सूचनाअनुसार वडा नं. १८ को अँधेरीकुनादेखि वडा नं. २, ४, ५, ७, ८, १७ हुँदै वडा नं। ६ को गाईघाटसम्म फैलिएको फिर्केखोलाको खोलाघर क्षेत्रभित्र निर्माण गरिएका संरचना हटाउन निर्देशन दिइएको हो । उक्त खोला अन्ततः फेवाताल मा मिसिने गर्दछ ।

यसअघि महानगरपालिकाले प्राविधिक टोलीमार्फत स्थलगत नापजाँच गरी खोलाघरको सीमा निर्धारण गर्दै पोल गाडेको थियो । त्यसपछि मिति २०८० कात्तिक १० गते ३५ दिने सूचना प्रकाशित गरेर खोलाघरभित्रका संरचना हटाउन आग्रह गरिएको थियो ।

महानगरका अनुसार उक्त सूचनाविरुद्ध सम्मानित उच्च अदालत पोखरामा मुद्दा दायर गरिएको भए पनि अदालतले उत्प्रेषण तथा परमादेश जारी गर्न नपर्ने आदेश दिएको छ। साथै महानगरपालिकाले पुनः मिति २०८३ वैशाख ४ गते अर्को सूचना जारी गरेको थियो ।

महानगरपालिकाले अब मिति २०८३ जेठ ९ गतेभित्र खोलाघरभित्र बनेका सबै स्थायी तथा अस्थायी संरचना सम्बन्धित व्यक्ति वा संस्थाले स्वयं हटाइसक्नुपर्ने जनाएको छ ।

तोकिएको अवधिभित्र संरचना नहटाए महानगरपालिका आफैँले डोजर लगाएर हटाउने र त्यस क्रममा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट सरकारी बाँकीसरह असुल गरिने चेतावनी सूचनामा उल्लेख गरिएको छ ।

फिर्केखोला अतिक्रमण हटाउने अभियानलाई महानगरले शहरी सौन्दर्य, वातावरण संरक्षण तथा प्राकृतिक बहाव व्यवस्थापनसँग जोडेर अगाडि बढाएको जनाएको छ ।

Leave A Reply

Your email address will not be published.