शुभप्रभात,
२०८३ जेठ १५ गते (२९ मे २०२६) शुक्रवार, ज्येष्ठ अधिक शुक्लपक्ष त्रयाेदशी तिथि, १०ः०२ बजेपछि चतुर्दशी। स्वाती नक्षत्र, ११ः१३ बजेपछि विशाखा। चन्द्रराशि तुला।
मेष –
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ। आँटेका काममा साथीभाइबाट सहयोग मिल्नेछ।
वृष –
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
विभिन्न अवसर प्राप्त भए पनि कामको मेसो नमिल्दा व्यवहारमा पछि परिनेछ। समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला। सम्भावना देखिए पनि उपलब्धि हातपार्न बढी श्रम गर्नुपर्ला। कमजोर नतिजा सच्याउन केही काम दोहोर्याउनुपर्ने हुन सक्छ। अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ। तापनि चुनौती पन्छाएर काम बनाउन सकिनेछ।
मिथुन –
का, कि, कु, घ, ङ, छ, के, को, हा
मिहिनेत गर्दा विशेष अवसर प्राप्त हुनेछ। लक्ष्यअनुसार काम सम्पादन हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। विद्यामा वृत्ति, सहुलियत वा विशेष अवसर प्राप्त हुनेछ। सहपाठीहरूलाई उछिन्दै पुरस्कार, प्रशंसा आदि प्राप्त गर्न सकिनेछ। व्यापारमा फाइदा हुनेछ। पशुपालन र कृषिमा लाभ मिल्नेछ। सन्तानको साथले उत्साह जगाउनेछ।
कर्कट –
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
हिस्सेदारसँग असमझदारी बढ्नाले समस्या आउन सक्छ। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला। मिहिनेत र बुद्धिको उपयोगले जटिल ठानिएको काम सम्पादन हुनेछ। आजको कामबाट दिगो फाइदा उठाउन सकिनेछ। मनको डर उत्साहमा रूपान्तरित हुनेछ। परिवारमा अभिभावकको सहयोग लिँदा विशेष काम सम्पादन हुन सक्छ।
सिंह –
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
पहिलेको सफलताले धन आर्जन हुनेछ। तर मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउनेछन्। चिताएको काम स्थगित हुन सक्छ। तर प्रयत्न गर्दा चुनौती पन्छाएर पनि व्यवसायकाे जग बसाउने मौका छ। सेवामूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ। उद्योग र व्यापारमा विशेष फाइदा लिने समय छ।
कन्या –
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
बोलीको प्रभाव बढ्नेछ भने चिताएको काम सजिलै सम्पादन हुनेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। व्यापारमा पनि सामान्य फाइदै हुनेछ। सहयोगीहरूले हिम्मत दिलाउनेछन्। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। सुखद समाचारले उत्साह जगाउनेछ।
तुला –
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ। आकर्षक उपहारले उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन्। आफन्तसँग रमाइलो भेटघाट हुनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। पहिलेको सफलताले पनि काममा विशेष अवसर दिलाउन सक्छ।
बृश्चिक –
तो, ना, नि, नु, ने, नो, या, यि, यु
खर्च लागे पनि लगानी बढाउने अवसर आउन सक्छ। दिगो योजनाका लागि ऋण लिने समय छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। तापनि उपलब्धिमूलक यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। टाढाका साथीभाइसँग आत्मीयता बढ्नेछ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ। कर्जा बढे पनि धन प्राप्त हुनेछ।
धनु –
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
कर्मयोगको विशेष फल प्राप्त गर्ने समय छ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आयआर्जन बढ्नेछ भने उठ्नुपर्ने रकम हातलागी हुनेछ। चल-अचल धनको उपयोग गर्ने समय छ। मिहिनेत गर्दा ऋण तथा कर्जा चुक्ता गर्न सकिनेछ। तर फाइदाका लागि केही प्रिय वस्तु त्याग्नुपर्ला। आफ्नो मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्, सजग रहनुहाेला।
मकर –
भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि
अवसर प्राप्त भए पनि आफ्ना कमजोरी बाहिर आउनाले समस्या पर्नेछ। विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। पुरानो हिसाबकिताब सुल्झाउन समय लाग्नेछ। लगनशीलताले लाभ उठाउन सकिनेछ। स्वार्थका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुहोला। प्रयत्नले जीवनशैलीमा सुधार ल्याउनुका साथै फाइदा पनि हुनेछ। काम गरेर दाम कमाउने अवसर प्राप्त हुनेछ।
कुम्भ –
गु, गे, गो, सा, सि, सु, से, सो, द
समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ। मेहनत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ। समाजमा तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। आफ्ना कमजोरी सुधार गर्ने समय रहेकाले काममा मिहिनेत गर्नुहोला।
मीन –
दि, दु, थ, , ञ, दे, दो, चा, चि
शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। अवसरवादीहरूले फसाउने चेष्टा गर्नेछन्। आर्थिक लाभ नहुने जिम्मेवारी वहन गर्नुपर्ला। आफ्ना वस्तु तथा काममाथि अरूले नियन्त्रण गर्न सक्छन्। अध्ययनमा समय दिन नसकिएला। सामूहिक काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला। आफ्ना कमजोरी बाहिर आउनाले व्यवहारमा केही अप्ठ्याराे पर्न सक्छ।
सबैको दिन शुभ रहोस….