सुचना, समाचार र मनोरन्जन

गायक तथा निर्माता रामकृष्ण ढकाल अमेरिका प्रस्थान: ‘मालती मंगले’को विश्वव्यापी प्रदर्शन र साङ्गीतिक यात्रा सुरु

काठमाडौं ।

नेपाली चलचित्र ‘मालती मंगले’को विश्वव्यापी प्रदर्शनका लागि चलचित्रका निर्माता तथा लोकप्रिय गायक रामकृष्ण ढकाल अमेरिका प्रस्थान गरेका छन्। चलचित्रको अन्तर्राष्ट्रिय रिलिज अभियानमा आफैँ सहभागी हुने उद्देश्यले उनी पहिलो चरणको भ्रमणका लागि अमेरिका उडेका हुन्। पहिलो चरणअन्तर्गत ढकालले अमेरिका, क्यानडा र अस्ट्रेलियाको भ्रमण गर्नेछन् भने यसपछि युरोपलगायत अन्य मुलुकहरूमा पनि जाने योजना रहेको छ। विश्वव्यापी प्रदर्शनका क्रममा चलचित्रको विशेष शोका साथै दर्शकहरूसँग ‘मिट एन्ड ग्रिट’ र ढकालको साङ्गीतिक कार्यक्रमसमेत आयोजना गरिनेछ।

सार्वजनिक तालिकाअनुसार अमेरिकाको बोस्टनमा जुन ५ र न्यु ह्याम्पसायरमा जुन ६ तारिखमा चलचित्र प्रदर्शन तथा साङ्गीतिक कार्यक्रम हुनेछ। त्यसपछि नर्थ क्यारोलाइना, कोलोराडो र टेक्सास हुँदै जुनको तेस्रो साता क्यानडाको टोरन्टोमा चलचित्र देखाइनेछ। यस्तै, जुलाई ४ तारिखमा अस्ट्रेलियाको सिड्नीमा चलचित्रको भव्य ‘रेड कार्पेट प्रिमियर’ हुनेछ भने त्यहाँका अन्य सहरहरूमा पनि प्रदर्शनलाई निरन्तरता दिइनेछ। युरोपका विभिन्न मुलुकहरूमा हुने रिलिज र साङ्गीतिक कार्यक्रममा ढकालसँगै कार्यकारी निर्माता सागर ज्ञवाली र अन्य कलाकारहरूको समेत सहभागिता रहने जनाइएको छ।

रानी फिल्म्सको ब्यानरमा युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको ‘मालती मंगले’लाई प्रकु पाण्डेयले निर्देशन गरेका हुन्। निर्देशक पाण्डेय स्वयंको कथा रहेको चलचित्रको पटकथा तथा संवाद लेखनमा उनलाई संयोग गुरागाईँले साथ दिएका छन्। चलचित्रमा विजय, वर्षा र मेक्समका साथमा प्रकाश घिमिरे, सरिता गिरी, नरिन थापा, मान्सु सापकोटा, सुस्मा निरौला र सुनिल तामाङ लगायतका कलाकारहरूको मुख्य अभिनय रहेको छ।

सागर ज्ञवाली कार्यकारी निर्माता रहेको यस चलचित्रमा बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईँले सह-निर्माताका रूपमा लगानी गरेका छन्। प्राविधिक पक्षतर्फ चलचित्रमा महेश पौडेलको छायाङ्कन, रोमी मोजेजको सम्पादन, कृष्ण भण्डारीको रङ्ग संयोजन, सुजिल कर्माचार्यको ब्याकग्राउन्ड स्कोर र डिकेश खड्गीको ध्वनि मिश्रण रहेको छ। कथावस्तु र प्रस्तुति दुवै दृष्टिकोणले उत्कृष्ट मानिएको यस चलचित्रको डायस्पोरा प्रदर्शनले विदेशमा रहेका नेपाली दर्शकहरूलाई भरपुर मनोरञ्जन दिने अपेक्षा गरिएको छ।

Leave A Reply

Your email address will not be published.