बाल्टिमोर (अमेरिका):
अमेरिकाको मेरिल्यान्ड राज्यस्थित बाल्टिमोरमा इन्टरनेसनल नेपलिज आर्टिस्ट सोसाइटी (इनास) मेरिल्यान्डको आयोजनामा “दोस्रो किड्स ट्यालेन्ट शो २०२६” भव्य रूपमा सम्पन्न भएको छ। नेपाली भाषा, कला, संस्कृति तथा पहिचानलाई नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यले आयोजित यस कार्यक्रममा प्रवासमा हुर्किएका नेपाली बालबालिकाहरूले गायन, नृत्य र नेपाली भाषा वक्तृत्वकलामा आफ्नो उत्कृष्ट प्रतिभा प्रस्तुत गरे। कार्यक्रममा नृत्यतर्फ प्रतिष्ठा देवकोटा, गायनतर्फ आर्शिभ खनाल तथा नेपाली भाषा वक्तृत्वकलातर्फ कृपा ढकाल विजेता बने। उत्कृष्ट प्रदर्शन गर्ने अन्य १० जना बालप्रतिभालाई पनि सम्मान गरिएको यस प्रतियोगिताका विजेताहरूलाई ५०० डलरसम्मको पुरस्कार, प्रमाणपत्र र मायाको चिनो प्रदान गरियो।
कार्यक्रममा अमेरिकाका लागि कार्यवाहक राजदूत शरद राज आर्य प्रमुख अतिथिका रूपमा सहभागी भए भने मेरिल्यान्ड स्टेट डेलिगेट डा. ह्यारी भण्डारी र ब्रिगेडियर जनरल पूर्णप्रसाद ढकाल विशेष अतिथिका रूपमा उपस्थित थिए। इनास मेरिल्यान्डकी अध्यक्ष शान्ति भण्डारीको नेतृत्वमा सम्पन्न कार्यक्रमको संयोजन सुशील पंगेनी र अमृता नेपालले गरे। वरिष्ठ कलाकार, गीतकार तथा साहित्यकारहरूको निर्णायक मण्डल रहेको यस कार्यक्रमलाई सफल बनाउन सचिव प्रकाश कँडेल, वरिष्ठ उपाध्यक्ष राजु ढुङ्गेल, बाध्यवादन संयोजक खिम मस्राङि मगर र कोषाध्यक्ष स्वरुपा रसाइली लगायत सम्पूर्ण पदाधिकारी, स्वयंसेवक तथा कलाकारहरू सक्रिय रूपमा खटेका थिए।
यसै अवसरमा इनास मेरिल्यान्डले प्रवासमा नेपाली कला र भाषाको जगेर्ना गर्ने उद्देश्यका साथ “इनास कला केन्द्र” स्थापना गर्ने घोषणा गरेको छ। यस कला केन्द्रमार्फत नेपाली नृत्य, गायन, नेपाली भाषा तथा जुम्बा कक्षाहरू सञ्चालन गरिने जानकारी दिइयो। नेपाली भाषामा गरिएको आत्मीय सञ्चालन र उत्कृष्ट व्यवस्थापन रहेको उक्त कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकार, अभिभावक तथा स्थानीय नेपाली समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो।