सुचना, समाचार र मनोरन्जन

डी सिने अवार्डमा ज्ञानेन्द्र देउजा र निरुता सिंह सम्मानित, मिलन चाम्स उत्कृष्ट निर्देशक

काठमाडौं :

छायाँछवि क्रिएसनको आयोजनामा नेपाली चलचित्र उद्योगको प्रोत्साहन, प्रवर्द्धन एवं संवर्द्धन गर्ने उद्देश्यका साथ निरन्तर हुँदै आएको डी सिने अवार्डको १७ औं संस्करण चलचित्र विकास बोर्डको प्रेक्षालयमा भव्य रूपमा सम्पन्न भएको छ। वर्ष २०८१ मा रिलिज भएका चलचित्रहरूलाई समेटेर आयोजना गरिएको यस संस्करणमा चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ बाट विजय बराल उत्कृष्ट अभिनेता र ‘बेहुली फ्रम मेघौली’ बाट स्वस्तिमा खड्का उत्कृष्ट अभिनेत्री घोषित भएका छन्। यस्तै, चलचित्र ‘अञ्जीला’ ले सर्वोत्कृष्ट चलचित्रको अवार्ड चुम्न सफल भयो भने सोही चलचित्रबाट मिलन चाम्स उत्कृष्ट निर्देशक चुनिए।

समारोहमा प्रमुख अतिथिको आसनबाट बोल्दै चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले अवार्डको औचित्य र यसले चलचित्र क्षेत्रमा पार्ने सकारात्मक प्रभावबारे प्रकाश पारे। कार्यक्रमका अध्यक्ष शान्तिप्रियले १७ औं संस्करणसम्म आइपुग्दा डी सिने अवार्डले भोगेका आरोह-अवरोहबारे चर्चा गरे। चलचित्र क्षेत्रका विभिन्न संघ-संस्थाका पदाधिकारी, चलचित्रकर्मी र पत्रकारहरूको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रमको सहजीकरण निराजन भण्डारीले गरेका थिए भने मोडल तथा कलाकार अस्मिता पुरीले आकर्षक नृत्य प्रस्तुत गरेकी थिइन्।

यस वर्षको प्रतिष्ठित ‘चलचित्रकर्मी रजत सम्मान’ बाट निर्देशक ज्ञानेन्द्र देउजा र अभिनेत्री निरुता सिंहलाई सम्मानित गरियो। पत्रकारिता क्षेत्रतर्फ ‘रेखा फिल्म्स छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार’ रंग पत्रकार सचित खड्कालाई प्रदान गरियो। कार्यक्रममा हास्य कलाकार गोपाल ढकाल (छन्दे), अभिनेत्री तेजुला खतिवडा, कलाकार गीता नेपाल, गायिका मिना नेपाली र व्यवसायी एवं समाजसेवी विश्वराम माकजुलाई पनि सम्मान गरिएको थियो। साथै, जुरी कमिटीका संयोजक निर्देशक कमल एक्चै मगर तथा सदस्यहरू पत्रकार नुमा कान्त पौडेल र निर्देशक अमर वलीलाई पनि सम्मान प्रदान गरियो।

महोत्सवमा ‘कार्साङ’ बाट जीतु नेपाल उत्कृष्ट सह-अभिनेता, ‘तेल भिसा’ बाट ऋचा घिमिरे उत्कृष्ट सह-अभिनेत्री, र ‘एक्टर टेक वान’ बाट राजबल्लभ कोइराला उत्कृष्ट चरित्र अभिनयको अवार्ड जित्न सफल भए। ‘ह्रस्व दीर्घ’ बाट चन्द्र पन्तले उत्कृष्ट नव निर्देशकको अवार्ड हात पार्दा ‘सतिदेवी’ का लागि लक्ष्मण सुवेदी उत्कृष्ट लेखक घोषित भए। प्राविधिक विधातर्फ चलचित्र ‘पिताम्बर’ बाट पुरुषोत्तम प्रधान उत्कृष्ट छायांकार र वन्दे प्रसाद उत्कृष्ट सम्पादक चुनिए।

संगीत तथा नृत्य विधातर्फ चलचित्र ‘खुश्मा’ को ‘रुकुम मैकोट’ बाट सुरेन्द्र राना उत्कृष्ट गीतकार, ‘ज्वाइँ साब’ को ‘कसम बत्तिको’ बाट अर्जुन पोखरेल उत्कृष्ट संगीतकार, र ‘छक्का पञ्जा ५’ को ‘बिहे भाको छैन’ गीतबाट सविन सुवेदी र बेनीशा पौडेल उत्कृष्ट गायक-गायिका घोषित भए। ‘दुखी आत्मा’ को ‘जुनिजुनि भरिलाई’ बाट रामजी लामीछानेले उत्कृष्ट नृत्य निर्देशक र ‘एक्टर टेक वान’ बाट अष्ट महर्जनले उत्कृष्ट द्वन्द्व निर्देशकको अवार्ड जिते। यसैगरी, ‘पिताम्बर’ बाट कृषा चौलागाईलाई उत्कृष्ट जुरी अवार्ड र ‘तेल भिसा’ का लागि शंकर घिमिरेलाई उत्कृष्ट डायोस्पोरा चलचित्रको अवार्ड प्रदान गरियो।

Leave A Reply

Your email address will not be published.