मुस्ताङ,
मुस्ताङको लोघेकरस्थित दामोदरकुण्ड पदयात्रामा जाने तीर्थयात्रीहरुलाई सञ्चारको सुविधा नहुँदा असहज भएको छ । यारादेखि केही माथिसम्म सञ्चारको पहुँच भए पनि घिमे ठाँटीदेखि दामोदरकुण्डसम्मको पदमार्गमा सञ्चारको पहुँच छैन ।
हालै नेपाल यातायात व्यवसायी सङ्घ गण्डकी प्रदेशको आयोजना तथा नेपाल पर्यटन बोर्ड गण्डकीको सहकार्यमा पोखराका पर्यटन तथा यातायात व्यवसायीहरुको दामोदरकुण्डको पदयात्रापछि आयोजित कार्यक्रममा उहाँहरुले सञ्चारको सुविधा आवश्यक रहेको बताउनुभयो । नेपाल यातायात व्यवसायी सङ्घका अध्यक्ष रविप्रसाद आचार्यले पदमार्गमा सञ्चारको सुविधा भएमा यात्रीहरुलाई ठूलो सहयोग पुग्ने बताउनुभयो ।
उक्त टोलीले पदयात्रापछि जोमसोममा अन्तरक्रिया आयोजना गरेको थियो । दामोदरकुण्ड समुन्द्री सतहदेखि पाँच हजार मिटरको उचाइमा अवस्थित छ । त्यहाँ पुग्ने तीर्थयात्रीहरुलाई लेक लाग्ने जोखिम हुने भएको सञ्चारको सुविधा उपलब्ध भइ धेरै सहज हुने सरोकारवालाको भनाइ छ ।
साथै दामोदरकुण्ड पदमार्गको घिमे ठाँटीदेखि दामोदरकुण्डसम्म ‘साइन बोर्ड’ नराखिएको र विभिन्न स्थानमा आश्रयस्थलहरु नभएकाले पदयात्रीहरुलाई पदयात्रा चुनौतीपूर्ण हुने गरेको उक्त टोलीको भनाइ छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङका प्रमुख उमेश पौडेलले घिमे डाँडामा टेलिकम कम्पनीको बिटिएस टावर स्थापना भए सहज हुने बताउनुभयो । पदयात्रीहरुलाई घिमे डाँडादेखि भार्सा डाँडासम्मको पदयात्रामा लेक लाग्ने समस्या हुने उहाँको भनाइ छ ।
जोमसोम–कोरला सडकमार्ग हुँदै उपल्लो मुस्ताङको चराङ राजमार्ग छोडेर पूर्वतर्फ ओरालो लागेपछि दामोदकुण्डको पदयात्रा सुरु हुन्छ । यारा गाउँ कटेर उकालो उक्लिएपछि समुन्द्री सतहको घिमे ठाँटी पुगिन्छ । दामोदरकुण्ड जाने अधिकांश तीर्थयात्री घिमे ठाँटीको धर्मशालामा बास बसेर भोलीपल्ट दामोदरकुण्ड प्रस्थान गर्छन् ।
मुस्ताङको यारा गाउँ हुँदै दामोदरकुुण्डसम्मको पदयात्रा १६ दशमलव ५ किलोमिटर छ । पवित्र धार्मिक तीर्थस्थल दामोदरकुण्ड पदयात्राका लागि एक वर्षमा तीन महिना मात्रै अनुकूल मानिन्छ । उच्च उचाइको स्थानमा अवस्थित दामोदरकुण्डमा जान हिउँदयामको मौसममा अत्यधिक चिसोका कारण समस्या हुने भएकाले बर्सेनि जेठदेखि साउनसम्मका लागि अनुकूल मानिने लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले बताउनुभयो । उहाँका अनुसार यारा गाउँबाट दामोदरकुण्ड पुग्न घोडामा चढेर सात घण्टाभन्दा बढी समय लाग्छ ।
नौ घण्टाको दामोदरकुण्ड यात्रा छ घण्टामा छोटिँदै
मुस्ताङको यारा हुँदै दामोदरकुण्ड जाने नौ घण्टाको पदयात्रा छ घण्टामा छोटिने भएको छ । उक्त पदमार्गको भार्सा खोलमा झोलुङ्गे पुल निर्माणका लागि बजेट सुनिश्चित भएसँगै दामोदरकुण्डको पदयात्रा सहज हुने भएको हो । सङ्घीय सरकारले दामोदरकुण्ड पदमार्गको घिमे डाँडादेखि भार्सा डाँडा जोड्ने गरी ४७० मिटर लामो झोलुङ पुल निर्माण गर्न अर्थ मन्त्रालय बहुर्षीय योजनाका रुपमा रु १८ करोड ५३ लाख बजेटको स्रोत सुनिश्चित गरेको हो ।
सङ्घीय सस्पेन्स ब्रिज डिभिजन कार्यालयका इञ्जिनियर गोपालबहादुर थापाका अनुसार दामोदरकुण्डको भार्सा खोलामा झोलुङ पुल निर्माणका लागि चालु आर्थिक वर्षमा रु तीन करोड र आगामी आर्थिक वर्षका लागि रु तीन करोड बजेट विनियोजन भएको छ । पुल निर्माणका लागि डिपीआरलगायतका काम सकिएको छ ।
पुल निर्माणका लागि गतवर्ष प्रतिनिधिसभाका तत्कालीन सदस्य देवीप्रकाश भट्टचन र लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टसहितको टोली भार्सा खोला पुगेको थियो ।