हिरा बहादुर कार्की,
अस्तित्वको एउटै नियम छ, सन्तुलन । जीवनजगतको एउटै नियम छ, सन्तुलन । प्रेमको पनि, घृणाको पनि । आशा निराशाको पनि । आस्था अनास्थाको पनि । सबैलाई सामान्य लाग्ने सन्तुलन शब्दको अर्थ त्यति सामान्य पनि छैन । थाहै छ, सन्तुलित आहारविहार सबैभन्दा जटिल विषय हो । आफैंभित्र पुगेर बाहिर निस्कँदा थाहा हुन्छ, कति सन्तुलन साँचेर कति सन्तुलन हराएर बाँचेको हुन्छ मान्छे ।
जीवनको मूल विषय सन्तुलन हो । हामी जीवनलाई कति राम्ररी सम्हालिरहेका छौं भन्ने कुरा बाहिरी उपलब्धि, सम्पत्ति वा प्रशंसाले मात्र निर्धारण गर्दैन। वास्तविक प्रश्न त यो हो कि हामी आफैंभित्र कति सन्तुलित छौं। जीवन अनेक अनुभव, सिकाइ, सम्बन्ध र परिवर्तनहरूको यात्रा हो। यही यात्रामा हामी प्रेमको खोज गर्छौं तर प्रेमलाई बुझ्नुभन्दा पहिले हामीले आफूलाई बुझ्न आवश्यक हुन्छ ।
हामी प्राय प्रेमलाई सम्बन्ध, आकर्षण वा भावनासँग जोडेर हेर्छौं। कसैलाई मन पराउनु, कसैको साथ चाहनु, कसैबिना अपूरो महसुस गर्नु वा कसैलाई आफ्नो जीवनको केन्द्र बनाउनु नै प्रेम हो भन्ने सोच व्यापक छ। तर प्रेम यति मात्र होइन। प्रेमको नाममा हामीले धेरैपटक निर्भरतालाई स्वीकार गरेका हुन्छौं, र निर्भरतालाई नै प्रेम ठानेका हुन्छौं ।
जब हामी आफ्नो अस्तित्व बिर्सेर अर्काको छायाँमा बाँच्न थाल्छौं, त्यो प्रेम रहँदैन। त्यहाँबाट दासताको बीउ उम्रिन थाल्छन्। यदि हाम्रो खुशी, हाम्रो आत्ममूल्य वा हाम्रो जीवनको अर्थ नै अर्को व्यक्तिमा निर्भर हुन्छ भने त्यो प्रेम होइन, एक प्रकारको मानसिक बन्धन हो। साँचो प्रेमले मानिसलाई सानो बनाउँदैन, उसलाई अझ स्वतन्त्र बनाउँछ ।
यही कारणले प्रेम र समर्पणलाई पनि सही रूपमा बुझ्न आवश्यक छ। कसैप्रति समर्पित हुनु र आफूलाई पूर्ण रूपमा हराउनु एउटै कुरा होइन। चेतना, स्वतन्त्रता र आत्मसम्मानविनाको समर्पण केवल आत्मविसर्जन बन्न सक्छ। साँचो समर्पणमा स्वतन्त्रता हुन्छ। साँचो प्रेममा स्वाभिमान हुन्छ। जहाँ आफूलाई नै गुमाउनुपर्ने अवस्था आउँछ, त्यहाँ प्रेमको सार हराउँछ ।
मानवजीवन केवल बाहिर देखिने घटनाहरूको कथा होइन। यो भित्र निरन्तर चलिरहेको ऊर्जाको यात्रा पनि हो। हाम्रो अस्तित्व प्रकृतिका तत्त्वहरूसँग गहिरो रूपमा जोडिएको छ । जब हाम्रो भित्री संसार असन्तुलित हुन्छ, त्यहाँबाट डर, असुरक्षा, तृष्णा र भोक जन्मिन्छन्। यी केवल शारीरिक आवश्यकताका कुरा होइनन् । यी मानसिक र भावनात्मक अवस्थाहरू पनि हुन् ।
मानिसको चेतना जब केवल अस्तित्वको चिन्तामा सीमित हुन्छ, तब उसको जीवनको केन्द्र म कसरी बाँच्ने? भन्ने प्रश्नमा अडिन्छ। त्यस अवस्थाबाट मलाई पाउनुपर्छ, मेरो हुनुपर्छ, मलाई गुम्नु हुँदैन भन्ने मानसिकता जन्मिन्छ। यही मानसिकताले प्रेमलाई पनि स्वामित्वमा बदल्न थाल्छ ।
त्यसपछि मानिस भन्छ, म तिमीलाई प्रेम गर्छु, तर भित्र कतै म तिमीलाई आफ्नो नियन्त्रणमा राख्न चाहन्छु भन्ने चाहना लुकेको हुन्छ। प्रेमको नाममा अधिकार खोजिन्छ। सम्बन्धको नाममा स्वतन्त्रता खोसिन्छ। निकटताको नाममा व्यक्तित्वलाई सीमित गरिन्छ। यहींबाट प्रेमको शुद्धता हराउन थाल्छ। तर चेतनाको यात्रा यतैकतै रोकिदैन ।
जब मानिस बाहिरी संसारबाट मात्र होइन, आफ्नै अन्तरमनबाट पनि सिक्न थाल्छ, तब उसले आफ्नो डरलाई चिन्न थाल्छ। उसले आफ्ना तृष्णाहरूलाई बुझ्न थाल्छ। उसले आफूभित्रको असुरक्षा र अहंकारलाई देख्न थाल्छ। यही देख्ने प्रक्रिया नै रूपान्तरणको सुरुवात हो ।
प्रेमको पहिलो रूप प्राय चाहना हुन्छ। त्यसपछि आकर्षण आउँछ। आकर्षणसँगै अपेक्षा आउँछ। अपेक्षाबाट स्वामित्वको भावना जन्मिन्छ। तर यदि चेतना परिपक्व हुँदै गयो भने यही प्रेम क्रमश विश्वासमा रूपान्तरित हुन थाल्छ ।
त्यो अवस्थामा प्रेमले समात्न खोज्दैन, साथ दिन्छ। प्रेमले नियन्त्रण गर्न खोज्दैन, स्वीकार गर्छ। प्रेमले माग गर्दैन, दिन सिक्छ। प्रेमले बाँध्दैन, स्वतन्त्र हुन दिन्छ ।
जब प्रेम शुद्ध हुँदै जान्छ, मानिसको सम्बन्धप्रतिको दृष्टिकोण पनि बदलिन्छ। उसले बुझ्न थाल्छ कि अर्को व्यक्ति उसको सम्पत्ति होइन, आफ्नै यात्रा बोकेको एक स्वतन्त्र अस्तित्व हो। त्यहाँ प्रेम अधिकार होइन, सम्मान बन्छ। अपेक्षा होइन, विश्वास बन्छ। डर होइन, आत्मीयता बन्छ ।
प्रेमको यो रूप नदीजस्तै हुन्छ। नदी बग्छ, तर बाँध्दैन, बाँधिदैन । नदीले जीवन दिन्छ, तर स्वामित्व खोज्दैन। शुद्ध प्रेम पनि यस्तै हुन्छ। त्यो कसैलाई आफ्नो बनाउने प्रयास गर्दैन, तर आफ्नो उपस्थितिले जीवनलाई सुन्दर बनाउँछ। तर प्रेमको यात्रा अझ गहिरो छ ।
जबसम्म मानिसभित्र तृष्णा, अहंकार र भयको प्रभाव रहन्छ, प्रेम पूर्ण रूपमा शुद्ध हुन सक्दैन। अहंकारले सधैं केही न केही खोजिरहेको हुन्छ । मान्यता, प्रशंसा, स्वामित्व वा महत्व। त्यसैले अहंकारबाट जन्मिएको प्रेम सधैं सर्तयुक्त, तर्कयुक्त हुन्छ ।
तिमी मेरो कुरा मान्यौ भने म तिमीलाई प्रेम गर्छु । तिमीले मलाई प्राथमिकता दियौ भने म खुसी हुन्छु। तिमी मेरो अपेक्षाअनुसार रह्यौ भने सम्बन्ध टिक्छ। यस्ता सर्तहरू जहाँ छन्, त्यहाँ प्रेमभन्दा बढी सम्झौता हुन्छ ।
जब चेतना अझ परिष्कृत हुन्छ, मानिसले प्रेमलाई प्राप्त गर्ने वस्तुको रूपमा होइन, व्यक्त गर्ने अवस्थाको रूपमा अनुभव गर्न थाल्छ। त्यहाँ प्रेम कुनै लेनदेन हुँदैन। र प्रेम आफैंमा पूर्ण हुन्छ। त्यो अवस्थामा तृष्णा भक्ति बन्न थाल्छ। भोक समर्पणमा रूपान्तरित हुन थाल्छ। अहंकार विनम्रतामा बदलिन थाल्छ। र प्रेम चेतनाको उज्यालो स्वरूप बन्छ ।
दिव्य प्रेम कुनै भावनात्मक उत्तेजना होइन। यो कुनै सम्बन्ध विशेषको नाम पनि होइन। यो यस्तो चेतनाको अवस्था हो जहाँ म र तिमी बीचको दूरी क्रमश कम हुन थाल्छ। त्यहाँ विभाजनभन्दा एकताको अनुभूति बलियो हुन्छ। त्यहाँ प्रेम केवल दुई व्यक्तिबीच सीमित रहँदैन, त्यो जीवनलाई हेर्ने दृष्टि बन्छ ।
त्यस अवस्थामा मानिसले अरूलाई बदल्न खोज्दैन। उसले अरूलाई बुझ्न खोज्छ। उसले कसैलाई नियन्त्रण गर्न खोज्दैन। उसले स्वीकार गर्न सिक्छ। उसले प्रेम माग्दैन। ऊ आफैं प्रेमको स्रोत बन्न थाल्छ। त्यसैले दिव्य प्रेममा सम्बन्ध रहन्छ, तर बन्धन रहँदैन। निकटता रहन्छ, तर स्वामित्व रहँदैन । समर्पण रहन्छ, तर आत्मविस्मृति रहँदैन। एकता रहन्छ, तर व्यक्तित्वको विनाश हुँदैन ।
जीवनको गहिरो सत्य पनि सायद यही हो, प्रेम कुनै बाहिरी वस्तु होइन, जसलाई हामी कतै गएर प्राप्त गर्न सक्छौं। प्रेम कुनै व्यक्ति विशेषसँग मात्र जोडिएको अनुभव पनि होइन। प्रेम त चेतनाको एउटा अवस्था हो, जुन हामीभित्र नै सम्भावनाको रूपमा उपस्थित छ ।
जब हामी आफ्ना डरहरूलाई बुझ्छौं, आफ्ना तृष्णाहरूलाई रूपान्तरित गर्छौं, अहंकारलाई पार गर्न सिक्छौं र जीवनलाई अझ गहिरो रूपमा अनुभव गर्न थाल्छौं, तब प्रेमको स्वरूप बदलिन्छ । त्यो चाहनाबाट चेतनातर्फ, स्वामित्वबाट स्वतन्त्रतातर्फ, र सम्बन्धबाट दिव्य अनुभूतितर्फ यात्रा गर्न थाल्छ ।
अन्तत, प्रेम खोज्ने वस्तु होइन। प्रेम त हामी आफैं बन्ने अवस्था हो। जब प्रेमप्रतिको डर समाप्त हुन्छ, जब अहंकारको पकड कमजोर हुन्छ, जब चेतना विस्तार हुन थाल्छ, तब मानिसले प्रेम खोज्न छोड्छ। किनकि उसले महसुस गर्न थाल्छ कि प्रेम बाहिर कतै हराएको थिएन, त्यो त सधैं आफूभित्र नै उपस्थित थियो ।
त्यही क्षण मानिस प्रेमको खोजी गर्ने व्यक्ति मात्र रहँदैन। ऊ स्वयं प्रेमको स्रोत बन्न थाल्छ । सबैको कल्याण होस् !