बितेको २ महिनादेखि ठप्प रहेको नेपाली चियाको भारततर्फको निर्यात नियमित भएको छ । अस्ति मङ्गलवारदेखि काँकडभिट्टा नाकाबाट इलाम र झापाका चियाका ट्रकहरू भारततर्फ प्रस्थान गरिरहेका छन्।
मेची भन्सार कार्यालयका अनुसार मङ्गलवार र बुधवार गरी चिया बोकेका ५ वटा ट्रक भारततर्फ गएका छन् । भारतको खाद्य सुरक्षा प्राधिकरणले नयाँ नीति ल्याई शतप्रतिशत परीक्षणको सट्टा २० प्रतिशत खेपमा मात्र नमूना परीक्षण गर्ने व्यवस्था गरेपछि यो सहजता आएको हो ।
निर्यात अवरोधका कारण झापा र इलामका झन्डै ९९ वटा चिया उद्योग बन्द गरेर किसान र मजदुरले आन्दोलन थालेका थिए । अहिले पहाडी अर्थोडक्स चिया पूर्णरूपमा निकासी भइरहेको छ भने तराईको सीटीसी चिया मूल्यमा सहमति हुन बाँकी रहेकाले रोकिएको छ ।
व्यवसायीका अनुसार यो अस्थायी समाधान मात्र हो । दीर्घकालीन समाधानका लागि नेपाल र भारतबीच सरकारीस्तरको सम्झौता र तेस्रो देशमा बजार विस्तार आवश्यक रहेको उनीहरूको भनाइ छ ।