पोखरा ,
ट्राफिक प्रहरी कास्कीले पोखरामा शनिबार सवारीसाधनको प्रदूषण परीक्षण जाँच गरेको छ । ४० वटा सवारीको प्रदुषण चेकजाँच गर्दा २२ वटाले तोकिएको प्रदूषण मापदण्ड पूरा गर्न असफल भएका छन् । अत्यधिक धुवाँ उत्सर्जन गरेको पाइएपछि ती सवारीलाई थप कानुनी प्रक्रिया अघि बढाउन यातायात व्यवस्था कार्यालय कास्की पठाइएको प्रहरीले बताएकाे छ ।
जिल्ला ट्राफिक कार्यालय कास्की र यातायात व्यवस्था कार्यालय कास्कीको संयुक्त टोलीले न्यूरोडमा पोखरा नगरक्षेत्र भित्र चल्ने सिटी बस तथा अन्य सवारीसाधनको अनुगमन गरेको थियो ।
वायु प्रदूषण नियन्त्रण, वातावरण संरक्षण तथा सडकमा सञ्चालन हुने सवारीसाधनलाई निर्धारित मापदण्डअनुसार सञ्चालन गराउने उद्देश्यले परीक्षण र अनुगमन गरिएको प्रहरीले जनाएको छ।
सवारीधनी तथा चालकलाई नियमित मर्मतसम्भार गरी सवारीलाई प्रदूषण मापदण्डअनुसार सञ्चालन गर्न प्रहरीले अनुरोध गरेकाे छ।