सुचना, समाचार र मनोरन्जन

आमा र बालकको भावनात्मक संघर्षको कथा: साउन २२ मा आउँदै निर शाहको ‘कमला मिस’

काठमाडौं :

आगामी साउन २२ गते (अगस्ट ७) देखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउन लागेको प्रतिक्षारत चलचित्र ‘कमला मिस’को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ। निर्माण पक्षले चलचित्रको मूल मर्म र कथावस्तु झल्काउने गरी आमा र बुबा-बालकको आत्मीय सम्बन्धलाई समेटेर पोस्टर बाहिर ल्याएको हो।

सार्वजनिक पोस्टरमा एक महिलाले सानो बालकलाई ममतापूर्वक अँगालोमा च्यापेर बसेको हृदयस्पर्शी दृश्य प्रस्तुत गरिएको छ, जसले आमा–बालकको सम्बन्ध, माया, त्याग र भावनात्मक संघर्षमा आधारित कथावस्तुको बलियो संकेत गर्छ। मनोवैज्ञानिक तथा सामाजिक विषयवस्तुमा आधारित ‘कमला मिस’को यो पोस्टर सार्वजनिक भएसँगै दर्शकमाझ चलचित्रलाई लिएर उत्सुकता थपिएको छ।

यो चलचित्र नेपाली साहित्यका मूर्धन्य साहित्यकार तथा नाटककार विजय मल्लको चर्चित नाटक ‘कोही किन बर्बाद होस्’बाट प्रेरित भएर निर्माण गरिएको हो। चलचित्रमार्फत वरिष्ठ कलाकार तथा निर्देशक निर शाह करिब एक दशकपछि निर्देशनमा फर्किएका हुन्। उनले यसअघि ‘वासुदेव’, ‘पच्चीस बसन्त’, ‘राजमती’, ‘वसन्ती’, ‘मसान’ र ‘सेतोबाघ’जस्ता कालजयी चलचित्रहरूको सफल निर्देशन गरिसकेका छन्। लामो समयपछि मेगाफोन समातेका शाहले ‘कमला मिस’मार्फत सामाजिक यथार्थ र पारिवारिक भावनालाई केन्द्रमा राख्दै दर्शकमाझ फरक स्वादको कथा पस्कने प्रयास गरेका छन्।

विजय मल्ल स्मृति प्रतिष्ठानका लागि विजय मल्ल परिवारले निर्माण गरेको यस चलचित्रमा निर्देशक निर शाह स्वयं मुख्य भूमिकामा देखिँदैछन्। उनीसँगै चलचित्रमा रमेश बुढाथोकी, बासना तिमिल्सिना, शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, कृष्ण मुरारी ढुंगेल, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी र सञ्जय खतिवडालगायतका कलाकारहरूको सशक्त अभिनय रहेको छ।

विजय मल्लको मूल कथा रहेको यस चलचित्रको पटकथा तथा संवाद निर शाह, प्रजल दुलाल र सुगम दुलालले संयुक्त रूपमा तयार पारेका हुन्। चलचित्रको कार्यकारी निर्मातामा चैतन्य प्रकाश प्रधान, उमेश मल्ल, रमेश बाबु श्रेष्ठ र राम भट्टराई रहेका छन् भने पुष्कर लामा (प्रेम भोम्जन) ले लाइन प्रोड्युसरको जिम्मेवारी सम्हालेका छन्।

प्राविधिक पक्ष पनि निकै सवल रहेको चलचित्रमा शिवराम श्रेष्ठको छायांकन, मिलन विक्रम शाहको सम्पादन र युग भुसालको संगीत रहेको छ। त्यस्तै, रामजी लामिछानेको कोरियोग्राफी, रेनिश फागोको रङ संयोजन (कलर ग्रेडिङ), मुकेश शाहको ध्वनि मिश्रण, भोला सुवेदीको निर्माण व्यवस्थापन तथा सागर बोहराको मुख्य सहायक निर्देशनमा चलचित्र तयार भएको हो। साउनको दोस्रो साताबाट प्रदर्शनमा आउने यो चलचित्रलाई एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले देशभर वितरण गर्ने जिम्मा लिएका छन्।

Leave A Reply

Your email address will not be published.