सुचना, समाचार र मनोरन्जन

सौरभको घोषणा गरे फिल्म ‘द राइज अफ साम्राज्य’

काठमाडौं :

डार्क हर्स इन्टरटेन्मेन्टको प्रस्तुति रहने नयाँ फिल्म ‘द राइज अफ साम्राज्य’को घोषणा भएको छ। सोमबार निर्माण पक्षले थिम पोस्टर सार्वजनिक गर्दै टाइटल अनाउन्समेन्ट गरेको हो।

सेलिब्रेटी लेखक बुद्धिसागरको लेखन रहेको फिल्म ‘साम्राज्य’लाई सौरभ चौधरीले निर्देशन गर्न लागेका हुन्। निर्मातामा प्रवेश चौधरी र निला देव रहेका छन्। को–प्रोडुसरमा विश्वास बस्नेत (बेन) र कार्यकारी निर्मातामा शंकर पाण्डे छन्। यो थिम पोस्टरमा आगोको लप्कासँगै घोडामा सवार मानिसहरू र पुराना तथा राजर्सी कालखण्डका व्यक्ति देखिएका छन्। पोस्टरले द्वन्द्वको संकेत गरेको छ। विद्रोहीको सेल्टरमा आगो लगाएको जस्तो देखिन्छ। तर, यकिन छैन।

पोस्टरको माथिल्लो र बायाँ भागमा उडिरहेको रातो कपडा वा झण्डाले क्रान्ति वा रगतको संकेत गरेको छ। त्यस्तै, पृष्ठभूमिमा केही व्यक्तिहरुले रामलीला नाटक देखाइरहेको धमिलो रूपमा देखिन्छ,जसले यो फिल्म कुनै कालखण्ड वा रोचक कथामा आधारित रहेको बुझाउँछ।

फिल्म एक्सन ड्रामा जनराभित्र रहने बताइएको छ। पछिल्लो समय एक्सन र मेकिङमा निकै प्रशंसा पाएका सौरभले यसपटक झन् ठूलो क्यानभासमा काम गर्न लागेको बुझिएको छ। निर्माण पक्षले सिनेमाको निर्देशक,लेखक, निर्माता र डिओपी सार्वजनिक गरे पनि कलाकार भने सार्वजनिक गरेका छैनन् । केही दिनमा कलाकारको लाइनअप सार्वजनिक गर्ने बताइएको छ।

भदौ पहिलो साताबाट छायांकन सुरुवात गरिने फिल्मको अधिकांश सुटिङ पूर्वी नेपालमा हुने र ७० दिनको सुटिङ सेड्युल रहने निर्माण टिमले जानकारी गराएको छ। फिल्मको रिलिज डेटबारे सौरभले हतार नगर्ने बताए। उनले भने,‘अहिलेलाई हामीले थिम र टाइटल अनाउन्समेन्ट गरेका छौँ, पूर्ण रूपमा छायाकंन सकिएसँगै पोस्टको कामलाई मध्यनजर गर्दै प्रदर्शन मिति तय गर्ने सोच हो। पहिला एउटा लाइन अप तयार होस्, त्यसपछि रिलिज डेटबारे सोचौला नि।’

मानकृष्ण महर्जनको डीओपी रहने यो फिल्मको एक्सन डिरेक्टरमा श्री श्रेष्ठ छन्। डिजिटल पाटर्नरमा ओएसआर डिजिटल रहेको छ भने पब्लिसिटी पार्टनरमा टौवा स्टुडियो छ। यो फिल्मको वितरकमा डिसीएन रहेको छ।

Leave A Reply

Your email address will not be published.