काठमाडौँ :
तीजको आगमनसँगै सांगीतिक बजारमा नयाँ तीज गीत सार्वजनिक हुने क्रम तीव्र बनेको छ। यसैबीच मौलिक तीज संस्कृतिलाई आधुनिक प्रस्तुतिसँग जोड्ने प्रयासस्वरूप गायिका देविका बन्दनाले ‘रातो सारी झल्कियो बरिलै’ बोलको नयाँ तीज गीत सार्वजनिक गरेकी छन्।
गीतमा गायिका बन्दनाकोका साथमा शान्तिश्री परियार र एलिना चौहानको स्वर रहेको छ। तीजको मौलिक लय, नेपाली महिलाको उत्साह र पर्वको सांस्कृतिक पक्षलाई समेटेर गीतकार उषा शेरचनले शब्द रचना गरेकी हुन् भने नरहरि प्रेमी उपाध्यायले संगीत भरेका छन्। राकेश सोनीको संगीत संयोजन रहेको उक्त गीत ‘अकुस्टिक रेकर्डिङ स्टुडियो’मा रेकर्ड गरिएको हो भने मिक्सिङ तथा मास्टरिङ प्रकाश मिश्रले गरेका हुन्।
गीतको भिडियोमा बसुन्धरा भुसाल, पहिलो नेपाली रंगीन चलचित्र ‘कुमारी’की नायिका चैत्यदेवी, र लोकप्रिय ट्याटु आर्टिस्ट तथा कलाकार सुनिता कुँवरको अभिनय रहेको छ। साथै, गायिका मञ्जु पौडेल र अनिता यादव लगायतका कलाकारहरूको अभिनय तथा नृत्यले भिडियोलाई थप आकर्षक बनाएको छ। भिडियोले तीज पर्वमा नेपाली महिलाहरूबीच देखिने आत्मीयता, सांस्कृतिक पहिचान र उत्सवको रौनकलाई जीवन्त रूपमा प्रस्तुत गरेको छ। भिडियोको निर्देशन तथा कोरियोग्राफी सृष्टि घिमिरेले गरेकी हुन्। देवराज आचार्यको छायांकन रहेको भिडियोमा सम्पादन, कलर ग्रेडिङ तथा ग्राफिक्स मनोज कार्कीको छ भने शृङ्गार टेकराज पाण्डेले गरेका छन्।
तीज पर्वलाई लक्षित गरी तयार पारिएको यस गीतमा शब्द, संगीत, गायन र दृश्य प्रस्तुतिबीच सन्तुलन कायम गर्ने प्रयास देखिन्छ। लोकलयमा आधारित प्रस्तुतिका कारण गीतले तीजका अवसरमा दर्शक(श्रोतामाझ राम्रो स्थान बनाउने अपेक्षा गरिएको छ। पछिल्ला वर्षहरूमा तीज गीतमा मौलिकता हराउँदै गएको बहस भइरहेका बेला ‘रातो सारी झल्कियो बरिलै’ ले नेपाली संस्कृति, परम्परा र उत्सवको भावलाई केन्द्रमा राख्दै मौलिक स्वाद पुनः स्मरण गराउने निर्माण पक्षको विश्वास छ।