सुचना, समाचार र मनोरन्जन

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा,
सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी प्रभावित जनतालाई  खाद्यान्न, नुन–तेललगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई प्राथमिकता दिएको छ ।
सरकारले अहिलेको विषम परिस्थितिमा आपत्कालीन अवस्था घोषणा गरी जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीसहित सरोकार भएका सम्पूर्ण सरकारी संयन्त्र परिचालन गरी हवाई कम्पनीहरूको सहयोग र सहकार्यमा राहत वितरण तथा उद्धार कार्यलाई तीव्रता दिएको हो ।
भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीका कारण तटीय क्षेत्रका बस्ती, सडक तथा पुल बगेपछि प्रभावित बासिन्दालाई हवाईमार्गको प्रयोग गरी खाद्यान्नलगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरिएको नुवाकोट तथा रसुवा जिल्ला प्रशासन कार्यालयले स्पष्ट गरेको छ ।
देशका सबैजसो हवाई कम्पनीका हेलिकप्टर प्रयोग गरी प्रभावित क्षेत्रमा सामान ढुवानी गरिएको जानकारी दिँदै रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले हिजो आइतबार २०० भन्दा बढी उडान भएको बताउनुभयो ।
उहाँका अनुसार नेपाली सेनासहित सुरक्षा निकाय र जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा सवारीसाधनको सहज पहुँच भएको नुवाकोटको बट्टारबाट बाढी प्रभावित क्षेत्रमा ढुवानी गरी फर्केर आउँदा गोसाइँकुण्ड पदमार्गमा अलपत्र परेका करिब २०० तीर्थयात्रुको उद्धार गरिरहेको छ ।
हेलिकप्टर प्रयोग गरी सामन ढुवानीसहित बाढी प्रभावितको उद्धार कार्यलाई आज बिहानैदेखि निरन्तरता दिएको बताउँदै रसुवाका सहायक प्रमुख जिल्ला अधिकारीले सरकारको निर्देशनअनुसार समन्वयात्मक एवं एकीकृत ढङ्गबाट सरोकार भएका सबैको सहयोग लिई उद्धार, राहत वितरण, पुनःस्थापना तथा पुनर्निर्माणको कामलाई प्राथमिकता दिन नीति रहेको स्पष्ट गर्नुभयो ।
यसैबीच, बाउबाजेदेखिको थातथलोसहित परिवारका सदस्य गुमाएका रसुवा तथा नुवाकोटका बाढी पीडित परिवारजनले अकल्पनीय बाढीको सन्त्रासबाट आत्तिएर काठमाडौँ पुगेका तथा अध्ययनका सिलसिलामा काठमाडौँमा रहेकालाई काठमाडौँमा राहत वितरण गर्न सरकारसँग अनुरोध गरेका छन्।
अहिले काठमाडौँका तारकेश्वर नगरपालिका–८ गैरीगाउँ–शान्तिटोलमा रसुवा बाढीबाट विस्थापित ९० घरपरिवार अस्थायी प्रकृतिको आश्रयस्थलमा बसिरहेको पर्यटन व्यवसायीसमेत रहनुभएका उत्तरगयाका बाढी प्रभावित शिव लामिछानेले जानकारी दिनुभयो ।  उहाँका अनुसार विपद्मा आश्रय दिँदै आएको स्वयम्भूस्थित यलो गुम्बामा बसिरहेका बाढी पीडितले समेत सरकारबाट राहत सुविधाको आस गरिहेका छन् ।
Leave A Reply

Your email address will not be published.