पोखरा :
विश्वकर्मा समाज नेपाल, केन्द्रीय कार्यालय कास्कीको आयोजनामा सञ्चालित नवौँ विश्वकर्मा भलिबल कप २०८३ वडास्तरीय खुला भलिबल प्रतियोगिताको आज पोखरा रंगशालामा एक भव्य कार्यक्रमबीच उद्घाटन गरिएको छ।
प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले भगवान् विश्वकर्माको तस्वीरमा दीप प्रज्वलन तथा माल्यार्पण गर्दै गर्नुभएको हो।
उद्घाटन समारोहका प्रमुख अतिथि सभामुख कृष्णप्रसाद धितालले खेलकुदले मानिसको जीवनलाई सरल, स्वस्थ र अनुशासित बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउँदै खेलकुद तथा खेल आयोजकलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए। विश्वकर्मा पूजाको अवसर पारेर आयोजना गरिएको प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्दै उनले यस्ता प्रतियोगिताले खेलाडीको क्षमता विकाससँगै सामाजिक एकता र सद्भाव अभिवृद्धिमा समेत योगदान पुर्याउने बताए।
कार्यक्रमकी विशिष्ट अतिथि गण्डकी प्रदेश सभाकी सामाजिक विकास तथा कृषि समिति सभापति माननीय दमयन्ती रुचालले खेलकुद मानव स्वास्थ्य निर्माण, व्यक्तित्व विकास तथा आफ्नो देशलाई विश्वसामु चिनाउने महत्वपूर्ण माध्यम भएको बताइन्। उनले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्दै खेलकुदको विकासमा निरन्तर लगानी र प्रोत्साहन आवश्यक रहेको उल्लेख गरिन्।

त्यसैगरी, गण्डकी प्रदेश सभा सदस्य नन्दकला नेपालीले विभिन्न समयमा आयोजना हुँदै आएका यस्ता खेलकुद प्रतियोगितामा महिला खेलाडीहरूको समेत उल्लेख्य सहभागिता गराउन सके प्रतियोगिता अझ समावेशी र प्रभावकारी बन्ने बताइन्। उनले आगामी दिनमा महिला खेलाडीको सहभागितालाई समेत प्राथमिकता दिन आयोजकलाई सुझाव दिइन्।
उद्घाटन कार्यक्रममा विश्वकर्मा समाज नेपालका संस्थापक अध्यक्षले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्दै पश्चिमाञ्चल क्षेत्रमा विश्वकर्मा समाज नेपाल सम्भवतः सबैभन्दा पुरानो तथा ज्येष्ठ सामाजिक संस्थाका रूपमा स्थापित रहेको बताए। उनले समाजको गरिमा र पहिचानलाई कायम राख्दै नयाँ समिति तथा पदाधिकारीहरूलाई संस्थाको उद्देश्यअनुसार अघि बढ्न सुझाव दिए।
कार्यक्रममा विश्वकर्मा समाज नेपाल, केन्द्रीय कार्यालय कास्कीका उपाध्यक्ष बाबुलाल घिमिरेले स्वागत मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष बेलबहादुर विश्वकर्माले गरेका थिए भने कार्यक्रमको सञ्चालन समाजका सचिव तथा प्रवक्ता शरणसिंह विश्वकर्माले गरेका थिए।
विश्वकर्मा पूजाको अवसर पारेर आयोजना गरिएको प्रतियोगितामा विभिन्न वडा तथा क्लबका टोलीहरूको सहभागिता रहेको छ। प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा पोखरा–१६ र फलेबास–७ बीच प्रतिस्पर्धा भएकोमा पोखरा–१६ ले सोझो सेटमा विजय हासिल गर्न सफल भएको छ। त्यस्तै, दोस्रो खेलमा दाजुभाइ क्लब गल्याङ र पोखरा–१३ बीच भएको प्रतिस्पर्धामा दाजुभाइ क्लब गल्याङ विजयी भएको छ।
वर्षाका कारण आजका अन्य खेलहरू स्थगित भएका छन्। स्थगित भएका खेलहरू २ गते बिहान ८ बजेदेखि पुनः सञ्चालन गरिने आयोजकले जनाएको छ। प्रतियोगिताको समापन असोज ३ गते गरिनेछ।