काठमाडौँ :
चलचित्र ‘अक्षरा’ आज (शुक्रवार) देखि देशभरका सिनेमाघरहरूमा प्रदर्शनमा आएको छ। निर्देशक विनयराज पौडेलको यो फिल्म प्रदर्शनमा आएको हो।
क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको यस चलचित्रमा सुशील सिटौला र न्यान्सी खड्का मुख्य भूमिकामा प्रस्तुत भएका छन्। मुख्य जोडीका साथमा सुशील पोखरेल, अंशु महर्जन, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी, सुमन ज्योति न्यौपाने (ल्याग्री दादा) र सृष्टि खड्काको अभिनय देख्न सकिन्छ। चलचित्रमा रोनक खड्का र प्रीसा ढुङ्गानाले बालकलाकारको रूपमा अभिनय गरेका छन्।

अभिभावकले छोरीको इच्छा र चाहनाविपरीत जबरजस्ती विवाह गरिदिएपछि उत्पन्न हुने पारिवारिक खटपट र सामाजिक विषयवस्तुलाई फिल्मको मुख्य कथानक बनाइएको छ।
सोनी थापा (ढुङ्गाना) प्रस्तुतकर्ता रहेको यस चलचित्रमा उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गानाको लगानी छ भने कार्यकारी निर्मातामा सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने रहेका छन्। निर्माता उग्रसेनकै कथा रहेको फिल्मको पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलले संयुक्त रूपमा तयार पारेका हुन्।
सुरेन्द्र रानाको शब्द र कर्णराज गिरीको सङ्गीत रहेका गीतहरूमा अञ्जु पन्त, समीक्षा अधिकारी, रचना रिमाल र एसडी योगीको स्वर सुन्न सकिन्छ। दिपेन बस्न्यातको छायाङ्कन, गौतम खड्काको सम्पादन, साहिल खानको टिजर तथा ट्रेलर कट, रामजी लामिछानेको नृत्य र शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको यो फिल्मलाई नेसनल सिने ग्रुपका तर्फबाट दीपक दंगालले वितरण गरेका हुन् भने डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ।