काठमाडौँ ,
बाढी पहिरोका कारण पृथ्वीराजमार्गसहित मुलुकका १२ वटाभन्दा बढी सडक खण्ड अवरुद्ध भएका छन् । धादिङको गजुरी गाउँपालिका(२ परेवाभिरस्थित पृथ्वीराजमार्गमा अविरल वर्षाका कारण माथिबाट पहिरो आएर दुईतर्फी पूर्ण रूपमा सडक अवरुद्ध भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार बिपी राजमार्गको काभ्रे खण्डमा पनि सडक अवरुद्ध भएको छ । आज बिहान ४ः५५ बजेदेखि काभ्रेको रोशी गाउँपालिका(९ पिनथली र वडा नम्बर ८ स्थित गिम्दीबेँसीस्थित बिपी राजमार्गमा खहरेखोलाबाट ढुङ्गामाटोसहित लेदो आएर सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

आज बिहानदेखि सुर्खेतको बराहताल गाउँपालिका(७ औलिसेस्थित कर्णाली राजमार्गमा सडक माथिबाट सुख्खा पहिरो आएर बाटो पूर्ण रूपमा अवरोध भएको छ । त्यसैगरी, मध्यपहाडी राजमार्गको खोटाङ खण्डमा पनि अवरुद्ध भएको छ भने ललितपुर बागमती खोला करिडोर र कान्तिलोकपथका विभिन्न खण्ड पनि अवरुद्ध भएको छ ।
सो कान्तिलोकपथका ललितपुर महानगरपालिका(२ बल्खु, सुन्दरीघाटस्थित रहेको करिडोरको बाटोमा अविरल वर्षाका कारणले पानीको बहाव बढेपछि आवागमन पूर्ण रूपमा अवरुद्ध भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । साथै कालीगण्डकी कोरिडोरअन्तर्गत गुल्मीको कालीगण्डकी गाउँपालिका(२ राक्सेस्थित कालीगण्डकी करिडोर सडकखण्डमा बाटो माथिबाट लेदोसहितको पहिरो आएर सडक अवरुद्ध भएको छ ।
त्यसैगरी, कालीगण्डकी कोरिडोर अन्तर्गतको पाल्पाखण्डमा रामपुर नगरपालिका(१ कासिबन स्थित कालीगण्डकी करिडोर पक्की सडकखण्डमा माथिबाट ढुङ्गासहितको पहिरो आएर बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । साथै मुगुको छाँयानाथ रारा नगरपालिका(७ ताल्चास्थित नाग्म गमगढी सडकखण्ड पनि अवरुद्ध भएको छ ।