काठमाडौं :
फिल्म ‘पाँच पाण्डव’को ट्रेलर–२ सार्वजनिक भएको छ। निर्माण टिमले मंगलबार काठमाडौं स्थित बिग मुभिजको हलमा एक कार्यक्रमकाबीच फिल्मको दोस्रो ट्रेलर सार्वजनिक गरेको हो।
ट्रेलरमा मुख्य कथा हरिवंश आचार्यकै वरपर घुम्छ। पृथ्वीमा रहेका आफ्ना भाइहरु दुखी रहेको भन्दै पृथ्वीलोकमा आइपुगेका युधिष्टिर उर्फ हरिवंश समस्यामा रहेका भाइहरुलाई त्यसबाट कसरी छुट्कारा दिलाउने भन्नेमा छन्। हरिवंश भीम,अर्जुन,सहदेव भन्दै नामाकरण गर्दै आफ्नो चार भाइ बनाइरहेका छन्। अनि जोजो समस्यामा छन्,उनीहरुलाई सहयोग गर्दै हिँडिरहेका छन्। अन्याय र विकृतिविरुद्ध उनी उभिएको देखिन्छ। अथवा समस्यामा परेकाहरुको उद्धारकमा रुपमा हरिवंश देखिएका छन्। छोटा कपडा लगाएर क्यासिनोमा युवती देखेर उनी आङ ढाकिदिन्छन्। सभ्य समाज निर्माण हुनुपर्छ भन्ने उनको उद्देश्य रहेको देखिन्छ। अन्याय, हिंसा र अत्याचारविरुद्ध पाँच भाइ मिलेर गरेको संघर्ष र विद्रोह ट्रेलरमा देखाइएको छ। फिल्मको हुक लाइन नै यही रहेको ट्रेलरले संकेत गर्छ।

बसन्त निरौलाले निर्देशन गरेको यो फिल्ममा हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिक्देल, सुशील सिटौला, इभा गिरी, दीपाश्री निरौलालगायत कलाकार मुख्य भूमिकामा छन्। अन्य कलाकारमासरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने, रितेश पौडेल लगायतको पनि मुख्य भूमिका रहेको छ।
काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको यस फिल्मका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन्। उनले यसअघि गतवर्ष ‘लाज शरणम्’ निर्माण गरेका थिए। फिल्मको निर्मातामा काली रानी श्रेष्ठ छिन्। ‘पाँच पाण्डव’मा कथा, पटकथा तथा संवाद सुशील पौडेलको रहेको छ। श्याम तामाङले खिचेको यो फिल्ममा सुप्रिम पराजुलीको सम्पादन तथा फाइट डाइरेक्टरमा सम्राट बस्नेत छन्। फिल्मको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ। यो फिल्मलाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मसले देशव्यापी वितरण गर्नेछ।