पोखरा,
लायन्स क्लब अफ पोखराको ५०औँ वर्ष अर्थात् स्वर्ण महोत्सव समारोहमा क्लबका संस्थापक, पूर्वअध्यक्ष तथा सामाजिक सेवामा विशेष योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गरिएको छ ।
समारोहका प्रमुख अतिथि प्रतिनिधिसभाका सभामुख डिपी अर्यालले देशमा सुशासन कायम गर्न, भ्रष्टाचार अन्त्य गर्न र निजी क्षेत्रलाई बलियो बनाउन समाजका सबै क्षेत्रको चासो, सहकार्य र साथ आवश्यक रहेको बताए ।
निजी क्षेत्र बलियो नभएसम्म देश समृद्ध हुन नसक्ने उल्लेख गर्दै सभामुख अर्यालले कानुन निर्माणमा सरोकारवालाको सुझाव र बहस महत्वपूर्ण हुने बताए । देशको भूगोल, सामाजिक अवस्था र भावी पुस्ताको आवश्यकतालाई ध्यानमा राखेर कानुन बनाउनुपर्ने उनको भनाइ थियो ।
‘जबसम्म हामी निजी क्षेत्रलाई बलियो बनाउन सक्दैनौँ, तबसम्म देश धनी हुन सक्दैन’, उनले भने ।
देशमा सुशासन कायम गर्न र भ्रष्टाचार अन्त्य गर्न आफू ठूलो अभियानमा लागेको उल्लेख गर्दै अर्यालले इमानदारीपूर्वक काम गर्नु राजनीतिक नेतृत्वको जिम्मेवारी भएको बताए । सुशासन कायम भए नागरिक, परिवार र समाज सुरक्षित हुने उनको भनाइ थियो ।
सभामुख अर्यालले लायन्स क्लबमा शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि र व्यवसायलगायत विभिन्न क्षेत्रका व्यक्तिहरू आबद्ध रहेको उल्लेख गर्दै समाजसेवामा क्लबले पुर्याएको योगदानको प्रशंसा गरे । आफू पनि सन् २०१६ देखि लायन्स परिवारमा जोडिएको र समाजमा केही गर्नुपर्छ भन्ने प्रेरणाले सेवाको अवसर पाएको उनले बताए ।

स्वर्ण महोत्सवका अवसरमा क्लबका संस्थापक अध्यक्ष जर्ज जोन, संस्थापक कोषाध्यक्ष सुशीलकुमार गोशली तथा संस्थापक सदस्य प्रेमबहादुर श्रेष्ठ र मेहरमान श्रेष्ठलाई सम्मान गरिएको छ । संस्थापक कोषाध्यक्ष गोशलीलाई ‘लायन अफ द गोल्डेन जुब्ली’ अवार्ड प्रदान गरिएको छ ।
त्यस्तै, क्लबमा विशेष योगदान पुर्याउने योगेन्द्रलाल प्रधान, गणेशबहादुर श्रेष्ठ, प्राडा बुद्धिबहादुर थापा, चन्द्रकृष्ण कर्माचार्य, डम्बरबहादुर श्रेष्ठ, दीपेन्द्र कोइराला, कृष्णबहादुर जिसी, देवेन्द्र नकर्मी, शिव श्रेष्ठ र डा। माधव तिवारीलाई सम्मान गरिएको छ । क्लब स्थापनादेखि हालसम्मका ४४ जना अध्यक्षलाई पनि सम्मान गरिएको थियो ।
समारोहमा क्लबको पाँच दशक लामो सामाजिक सेवायात्रा, उपलब्धि, ऐतिहासिक अभिलेख र विभिन्न लेख समेटिएको स्वर्ण महोत्सव स्मारिका विमोचन गरिएको छ । प्रमुख अतिथि सभामुख अर्याल, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र लायन्सका अन्तर्राष्ट्रिय निर्देशक राजन लम्सालले स्मारिका विमोचन गरेका थिए ।
स्वर्ण महोत्सवको अवसरमा क्लबले विन्ध्यवासिनी प्राकृतिक चिकित्सालयमा आरोग्य भवन निर्माण गरी हस्तान्तरण गरेको छ भने तुलसी घाटमा शवदाहस्थलको शिलान्यास गरेको छ । महोत्सवको अघिल्लो दिन शुक्रबार रक्तदान कार्यक्रमसमेत आयोजना गरिएको थियो ।
सन् १९७६ नोभेम्बर १० अर्थात् वि।सं। २०३३ सालमा स्थापना भएको लायन्स क्लब अफ पोखरा नेपालकै छैटौँ र तत्कालीन पश्चिमाञ्चल विकास क्षेत्रकै पहिलो लायन्स क्लब हो।
लायन नवराज पटेल र उनको टोलीको पहलमा स्थापना अभियान सुरु भएको क्लबमा सुरुमा पृथ्वीनारायण क्याम्पसका तत्कालीन प्रमुख तथा शिक्षासेवी जर्ज जोनलाई संस्थापक अध्यक्ष प्रस्ताव गरिएको थियो । तर, शैक्षिक तथा प्रशासनिक जिम्मेवारीमा व्यस्त रहेकाले पोखराका व्यवसायी फणिन्द्रमान श्रेष्ठको अध्यक्षतामा क्लब अघि बढाइएको थियो ।
स्थापनाकालदेखि नै क्लबले शिक्षा, स्वास्थ्य, रक्तदान, वातावरण संरक्षण, छात्रवृत्ति, विपद् व्यवस्थापन, मानवीय सहायता तथा सामुदायिक विकासका क्षेत्रमा निरन्तर काम गर्दै आएको छ । पाँच दशकको सामाजिक सेवायात्रा पूरा गरेको क्लबले स्वर्ण महोत्सवमार्फत अग्रजहरूको योगदानको सम्मान गर्दै आगामी पुस्तालाई समाजसेवामा प्रेरित गर्ने सन्देश दिएको छ ।