काठमाडौँ :
नृत्यांगना आश्मा विश्वकर्माले दक्षिण भारतीय फिल्म ‘पेड्डी’ को भाइरल गीत ‘चिकरी चिकरी’मा दिएको ऊर्जाशील प्रस्तुतिले उनलाई हाल सोसल मिडियाको केन्द्रमा पुर्याएको छ। रामचरण स्टारर मूल गीतको कोरियोग्राफीलाई चुनौती दिने शैलीमा आश्माले गरेको दमदार नृत्यले टिकटक, इन्स्टाग्राम र युट्युबभरि अभूतपूर्व प्रतिक्रिया पाएको हो।
साउथ इन्डियन अन्दाज, मुखमा बिँडी र उस्तै ड्रेसअपसहितको उनको प्रस्तुति दर्शकलाई तान्ने मुख्य आकर्षण बनेको छ। मूल गीतभन्दा झनै सानदार ढंगले परफर्म गरिएको आश्माको नृत्यलाई प्रयोगकर्ताले टिकटक तथा रिल्समा विशेष प्रशंसा गरिरहेका छन्।
टिकटकमा मात्र ७ लाख ३५ हजारभन्दा धेरै लाइक, १६ हजार कमेन्ट, ४४ हजार फेभरेट र ३३ हजार सेयर प्राप्त भएको छ। इन्स्टाग्राम रिल्समा भिडियोले १ करोड ६५ लाखभन्दा बढी भ्यु, १० हजार सेयर, ५ लाख ४६ हजार लाइक र १९ हजार कमेन्ट पाएको छ। यसैगरी युट्युब सर्ट्समा समेत उनको भिडियो झण्डै ४० लाख पटक हेरेएको छ।
आश्माको नृत्यलाई बलिउड गायिका दीपा झादेखि नेपाली अभिनेत्री प्रियंका कार्कीसम्मले खुलेर प्रशंसा गरेका छन्। ‘पेड्डी’ अभिनेत्री जान्ह्वी कपुर र फिल्मको अफिसियल इन्स्टाग्राम पेजले समेत आश्माको भिडियो सेयर गर्दै उनको प्रस्तुति प्रति सम्मान व्यक्त गरेका छन्।
रामचरण र जान्ह्वीको भिडियो हेरेपछि आफू पनि उक्त गीतमा परफर्म गर्ने सोच बनेको आश्माले बताइन्। उनको भिडियो काठमाडौँ दहचोकस्थित स्विटजरल्याण्ड पार्कमा छायांकन गरिएको हो।